arrow

ऊर्जा सुरक्षामा ध्यान केन्द्रित गर्न अमेरिकी ऊर्जा सचिवको आईईएलाई आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ७ बिहिबार
venezuela-oil-tanker.jpg

काठमाडौँ । अमेरिकी ऊर्जा सचिव क्रिस राइटले अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) लाई जलवायु परिवर्तनको मुद्दामा मात्र सीमित नभई ऊर्जा सुरक्षामा बढी ध्यान केन्द्रित गर्न आग्रह गरेका छन्।

पेरिसमा आयोजित एजेन्सीको मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै राइटले आईईएलाई जलवायु परिवर्तनका एजेन्डाहरूमा मात्र केन्द्रित हुने दबाबबाट मुक्त गराउन र थप सहकार्य एवं समर्थनका लागि सबै सदस्य राष्ट्रहरूलाई आह्वान गरे। उनले आईईएजस्तो महान् सङ्गठनले आफ्नो दायरालाई फराकिलो बनाउनुपर्नेमा जोड दिए।

सन् १९७३ को पेट्रोलियम सङ्कटपछि ऊर्जा आपूर्तिको अवरोधलाई व्यवस्थापन गर्न स्थापना गरिएको आईईएले आफ्नो कार्यशैलीमा सुधार नगरे अमेरिका यसबाट बाहिरिन सक्ने चेतावनी राइटले गत वर्ष नै दिएका थिए।

बुधबारको बैठकमा उनले आईईएको मूल उद्देश्य 'ऊर्जा सुरक्षा' नै भएको स्मरण गराउँदै यो संस्था विश्व परिवर्तन गर्ने र जनजीवन सुधार्ने अभियानमा केन्द्रित हुनुपर्ने बताए। पूर्व 'फ्राकिङ म्याग्नेट' समेत रहेका राइटले जलवायु सुधारको अभियानभन्दा बाहिर निस्केर ऊर्जा सुरक्षाको मुख्य मुद्दामा फर्कन सदस्य राष्ट्रहरूलाई अनुरोध गरे।

यसैबीच, आईईएका कार्यकारी निर्देशक फातिह बिरोलले राइटको भनाइप्रति लक्षित गर्दै पेरिसस्थित यो एजेन्सी पूर्ण रूपमा 'डाटा-ड्रिभन' अर्थात् तथ्याङ्कमा आधारित संस्था भएको स्पष्ट पारेका छन्।

उनले आईईए एक गैरराजनीतिक सङ्गठन भएको दाबी गर्दै यसले तथ्याङ्क र वस्तुपरक विश्लेषणका आधारमा मात्र आफ्ना गतिविधि र धारणाहरू सार्वजनिक गर्ने बताए। राइटको यस टिप्पणीले आईईएभित्र जलवायु लक्ष्य र परम्परागत ऊर्जा सुरक्षाबीचको प्राथमिकतालाई लिएर नयाँ बहस सिर्जना गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ