जनकपुरधाम । नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि पार्टीको 'प्रतिज्ञा पत्र' सार्वजनिक गर्दैछ। कांग्रेसले आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा एक विशेष सभामार्फत आफ्नो चुनावी मार्गचित्र सार्वजनिक गरिरहेको हो । आजै बसेको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले उक्त प्रतिज्ञा पत्रलाई सर्वसम्मत रूपमा पारित गरेपछि जनकपुरधाममा घोषणा गरिराखिएको हो ।
प्रतिज्ञा सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मालगायत केन्द्रीय तहका प्रमुख नेताहरूले पार्टीको आगामी योजनाबारे जानकारी दिँदैछन्।
मधेसको ऐतिहासिक र सांस्कृतिक नगरी जनकपुरधाममा आयोजना गरिएको यो सभालाई कांग्रेसले केवल राजनीतिक कार्यक्रम मात्र नभई मधेसको स्वाभिमान, समावेशी लोकतन्त्र र राष्ट्रिय एकताको सन्देश दिने ऐतिहासिक अवसरका रूपमा लिएको छ।
कांग्रेसका नेताहरूले मधेसको माटोले सधैँ प्रजातन्त्र, समावेशिता र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा दृढ आवाज उठाएको बताएका छन्।
नेपाली कांग्रेस मधेस प्रदेशका सभापति कृष्णप्रसाद यादवका अनुसार मधेस आन्दोलनपछिको राजनीतिक यात्रामा कांग्रेसले मधेसका जनताको पहिचान, अधिकार, समानुपातिक समावेशिता र सशक्तीकरणका मुद्दालाई आफ्नो मूल एजेन्डाका रूपमा आत्मसात् गरेको छ।
यो प्रतिज्ञा पत्रले ती मुद्दाहरूलाई कार्यान्वयन गर्ने स्पष्ट खाका प्रस्तुत गर्ने कांग्रेसको दाबी छ।