arrow

हेटौँडामा महाशिवरात्रिको उत्साह

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ३ आइतबार
mahashivaratri-hetauda.jpg

हेटौँडा। आज देशभर श्रद्धा र भक्तिभावका साथ महाशिवरात्रि पर्व मनाइँदैछ।

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीको मध्यरातमा पर्ने यस पवित्र पर्वमा आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा-आराधना गरी देशभरका शिवालयहरूमा भक्तजनको घुइँचो लागेको छ ।

हेटौंडा-४ स्थित भुवनेश्वर मन्दिर मा आज बिहानैदेखि दर्शनार्थीहरूको बाक्लो उपस्थिति देखिएको छ ।

श्रद्धालुहरू नदी, कुण्ड तथा तलाउमा स्नान गरी मन्दिर पुगेर पूजा-अर्चनामा सहभागी भएका छन् ।

भक्तजनले दूध, बेलपत्र, धतुरो लगायत भगवान् शिवका प्रिय वस्तु चढाई व्रत बसेका छन् ।

यद्यपि हेटौँडामा रहेको पशुपति मन्दिर मा भने शिवरात्रिका दिन पनि साधु-बाबाहरूको उपस्थिति देखिएको छैन ।

सामान्यतया शिवरात्रिमा साधुहरूले धुनी जगाई भजनकीर्तन गर्ने तथा भाङ्ग, धतुरो र गाँजा सेवन गर्ने चलन रहे पनि यस वर्ष त्यस्तो दृश्य देख्न नपाइएको स्थानीयले बताएका छन् ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूका लागि विशेष महत्व राख्ने यस पर्वलाई शिव उत्पत्ति भएको पवित्र रातका रूपमा लिइन्छ ।

शिवपुराण लगायतका धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि चार प्रमुख रात्रिमध्ये यो एक महत्वपूर्ण रात्रि हो ।

धार्मिक मान्यताअनुसार यस दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि प्राप्त हुने र यमलोक जानु नपर्ने विश्वास छ ।

भगवान् महादेवलाई जाडो हुने जनविश्वासका आधारमा घरघर, चोक तथा मठ-मन्दिरमा दाउरा संकलन गरी धुनी जगाउने तथा सोही आगोमा प्रसाद तयार गरी ग्रहण गर्ने परम्परा पनि जीवित छ ।

दीनदु:खी र कष्टपूर्ण जीवनयापन गरिरहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको प्रिय दिनका रूपमा महाशिवरात्रिलाई विशेष श्रद्धा र आस्थाका साथ मनाउने गरिन्छ ।

यस अवसरमा देशभरका शिवालयहरू भक्तजनको भीडले भरिएका छन् भने हेटौंडामा पनि दिनभर पूजा–आराधना र दर्शनको क्रम जारी रहने जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ