पश्चिमी वायुको प्रभाव कायमै, पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ३ आइतबार
615
Shares
काठमाडौँ । आज महाशिवरात्रि । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले देशका विभिन्न भागमा मौसममा बदली देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी क्षेत्रमा मौसम सफा नै रहेको छ।
आज दिउँसो तराईका केही स्थानमा मध्याह्नसम्म कुहिरो लाग्ने सम्भावना छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भेगमा साधारणतया बादल लाग्नेछ भने बाँकी प्रदेशका पहाडी र हिमाली क्षेत्रमा आंशिक बादल रहनेछ। तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने अनुमान उनले गरेका छन्।
महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। त्यसैगरी कोशी, बागमती र गण्डकीकै पहाडी क्षेत्र र अन्य प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा पनि हल्का वर्षा र हिमपात हुन सक्ने देखिएको छ। पहाडी र हिमाली क्षेत्रमा यात्रा गर्नेहरूलाई मौसमको यो बदलाबले केही असर पार्न सक्ने भएकाले सतर्क रहन सुझाव दिइएको छ।
आज राति तराईका केही स्थानमा तुँवालो लाग्ने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल रहनेछ भने देशका अन्य भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
रातिको समयमा पनि कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना कायमै रहने महाशाखाले जनाएको छ। चिसो अझै पूर्ण रूपमा नहटेकाले बिहान र बेलुकाको समयमा आवश्यक सावधानी अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।