arrow

मधेसमा जसपा र लोसपाका केन्द्रीय नेताहरू धमाधम कांग्रेसमा प्रवेश

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २ शनिबार
gagan-congress-82-11-2qq.jpg

सर्लाही । सर्लाहीमा जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का केन्द्रीय तहका नेताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । जसपा नेपालका वरिष्ठ उपाध्यक्ष केदार नन्दन चौधरी तथा लोसपाका महासचिव मनिष मिश्रसहित केदारसिंह ठटौलालगायत विभिन्न तहका नेता तथा कार्यकर्ताहरू कांग्रेसमा समाहित भएका हुन् । 

उनीहरूलाई चुनावी अभियानका क्रममा सर्लाही पुगेका कांग्रेस सभापति एवं सर्लाही–४ का उम्मेदवार गगनकुमार थापाले औपचारिक रूपमा स्वागत गरे । पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले लोकतान्त्रिक मूल्य, समावेशी सोच र विकासको साझा लक्ष्यले विभिन्न राजनीतिक पृष्ठभूमिका नेताहरूलाई एउटै धारमा उभ्याएको बताए । उनले भने, “देशलाई स्थिरता, सुशासन र परिणाममुखी विकास चाहिएको छ। त्यसका लागि विचार मिल्ने सबै शक्ति एउटै यात्रामा अघि बढ्नु आवश्यक छ।”

नवप्रवेशी नेताहरूले पनि आफूहरू विकास, स्थायित्व र सुदृढ लोकतान्त्रिक अभ्यासको पक्षमा उभिने निर्णयका साथ कांग्रेसमा आएको बताएका छन् । उनीहरूका अनुसार वर्तमान राजनीतिक परिस्थितिमा मतदाताको अपेक्षा पूरा गर्न सक्षम शक्ति रोज्नु आवश्यक ठानेर कांग्रेस रोजिएको हो।

कार्यक्रममा उनीहरूसहित अरु कयौँ नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । सर्लाहीमा पछिल्ला दिनहरूमा विभिन्न दल परित्याग गरी कांग्रेस प्रवेश गर्ने क्रम बढ्दै गएको बताइएको छ । 

विशेष गरी चुनावी अभियान तीव्र बनेसँगै जिल्लाका विभिन्न क्षेत्रबाट नेता–कार्यकर्ताहरू कांग्रेसतर्फ आकर्षित भइरहेका छन् । राजनीतिक विश्लेषकहरूका अनुसार मधेस क्षेत्रको राजनीतिमा प्रभाव राख्ने नेताहरूको कांग्रेस प्रवेशले आगामी निर्वाचनमा शक्ति सन्तुलनमा प्रभाव पार्न सक्ने आँकलन गरिएको छ । 

यसलाई केवल दल परिवर्तनको घटना मात्र नभई स्थानीय राजनीतिक समीकरण फेरिने संकेतका रूपमा पनि हेरिएको छ । सर्लाहीमा चुनावी गतिविधि दिनप्रतिदिन तीव्र बन्दै जाँदा  कांग्रेसको पल्ला भारी बन्दै गएको छ। 

यो गतिविधिले सिगो मधेसमै प्रभाव पारेको दाबी कांग्रेसको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ