arrow

राष्ट्रिय सभाको १९ औँ अधिवेशन: १७ घण्टामा सात महत्त्वपूर्ण विधेयक र अध्यादेशको काम फत्ते

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १ शुक्रबार
narayan-dahal-upper-house.jpg

काठमाडौँ । सङ्घीय संसद् राष्ट्रिय सभाको १९ औँ अधिवेशन ऐतिहासिक उपलब्धिहरू हासिल गर्दै समापन भएको छ। बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नारायणप्रसाद दाहालले यो अधिवेशन समयका हिसाबले छोटो भए पनि कामको हिसाबले निकै महत्त्वपूर्ण र भविष्यमा गर्व गर्न सकिने खालको रहेको बताएका छन्। 

प्रतिनिधिसभा निर्वाचनको सङ्घारमा देशभर चुनावी माहोल बनिरहेको अवस्थामा राष्ट्रिय सभाले आफ्नो अभिभावकीय भूमिका सफलतापूर्वक निर्वाह गरेको उनले उल्लेख गरे। यस अवधिमा सभाले पर्यटन विधेयक २०८१, चलचित्र विधेयक २०८१ र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना सञ्चालन विधेयक २०८१ जस्ता महत्त्वपूर्ण कानुनहरू पारित गरी प्रतिनिधिसभामा पठाएको छ। 

यस्तै अभौतिक प्राकृतिक सम्पदा संरक्षण विधेयकलाई दफावार छलफलका लागि विधान व्यवस्थापन समितिमा पठाइएको छ भने मतदाता नामावली ऐन, प्रतिनिधिसभा सदस्य निर्वाचन र नेपाल विशेष सेवा ऐनका विभिन्न संशोधन अध्यादेशहरू सभाबाट सर्वसम्मत रूपमा स्वीकृत भएका छन्। यद्यपि, सरकारले सामाजिक सञ्जाल विधेयक २०८१ भने फिर्ता लिएको छ।

जम्मा २७ दिनसम्म चालु रहेको यस अधिवेशनका क्रममा कुल ९ वटा बैठकहरू बसेका थिए। सभाको काममा कुल १७ घण्टा २५ मिनेट समय खर्च भएको छ। यस अवधिमा २९ जना सदस्यहरूले शून्य समयमा ४८ मिनेट र १५ जना सदस्यहरूले विशेष समयमा ३ घण्टा ३९ मिनेट बोलेर जनसरोकारका विषयहरू उठाएका छन्। निर्वाचनको विशेष समयमा पनि राष्ट्रिय सभाले विधायीक प्रक्रियालाई निरन्तरता दिँदै आफ्नो प्रभावकारिता पुष्टि गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ