काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठक सोमबार सभापति गगनकुमार थापाको सभापतित्वमा सम्पन्न भएको छ। बैठकमा महामन्त्री गुरुराज घिमिरेले विभिन्न सांगठनिक प्रस्तावहरू पेस गरेका थिए।
छलफलपछि बैठकले दुईवटा महत्त्वपूर्ण निर्णय गरेको छ। उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको ‘नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका–२०८२’ र ‘नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका–२०८२’ लाई आवश्यक परिमार्जनसहित बैठकले पारित गरेको पार्टीले जनाएको छ।
यसैगरी, पार्टीको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा (७) बमोजिम तीन सदस्यीय केन्द्रीय अनुशासन समिति गठन गर्ने निर्णय पनि भएको छ। उक्त समितिको संयोजकमा केन्द्रीय सदस्य तारामान गुरुङलाई तोकिएको छ भने सदस्यहरूमा केन्द्रीय सदस्य धना खतिवडा र सुवासकुमार पोखरेल रहेका छन्। निर्वाचनको पूर्वसन्ध्यामा पार्टीभित्रको अनुशासन कायम राख्न र चुनावलाई व्यवस्थित बनाउन यो समितिले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।
बैठकमा उपसभापति पुष्पा भुसाल, सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर, डा. डिला संग्रौला, मुक्ताकुमारी यादव, उदयशम्शेर राणा र योगेन्द्र चौधरीले आफ्नो धारणा राखेका थिए। साथै, पार्टी प्रवक्ता देवराज चालिसेले पनि बैठकको एजेन्डा र वर्तमान राजनीतिक अवस्थाबारे बोलेका थिए। आगामी निर्वाचनको तयारी र आन्तरिक व्यवस्थापनलाई केन्द्रमा राखेर बोलाइएको यो बैठकमा सहभागी नेताहरूले पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्नेमा जोड दिएका छन्। नयाँ निर्देशिका लागू भएसँगै अब कांग्रेसका चुनावी र सार्वजनिक कार्यक्रमहरू थप व्यवस्थित हुने अपेक्षा गरिएको छ।