वित्तीय प्रणालीमा पैसा थुप्रिएपछि राष्ट्र बैंकले ५० अर्ब निक्षेप तान्दै
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २५ आइतबार
624
Shares
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज आइतबार बोलकबोलमार्फत बजारबाट ५० अर्ब रुपैयाँ निक्षेप तान्न लागेको छ। बैंक तथा वित्तीय संस्थाहरूमा निरन्तर अधिक तरलता (लगानीयोग्य रकम) थुप्रिएपछि केन्द्रीय बैंकले फेरि निक्षेप संकलन उपकरण प्रयोग गर्न लागेको हो।
हाल बैंकहरूको कुल निक्षेप ७६ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ, जसका कारण ब्याजदरमा असन्तुलन नआओस् भनी राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा र संकलन उपकरणमार्फत तरलता व्यवस्थापन गर्दै आएको छ। यो बोलकबोल प्रक्रियामा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले मात्र भाग लिन पाउनेछन्। निक्षेप रकम बाँडफाँट गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकता दिइनेछ।
अनलाइन खरिद प्रणालीमार्फत हुने यो बोलकबोलमा ब्याजदर बजारकै माग र आपूर्तिका आधारमा निर्धारण हुनेछ। आज संकलन गरिने निक्षेपको सावाँ र ब्याज २०८३ चैत ८ गते भुक्तानी हुने जानकारी राष्ट्र बैंकले दिएको छ। बैंकहरूले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ५ करोड रुपैयाँले भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि बोल दिन सक्नेछन्। केन्द्रीय बैंकले खुला बजार कारोबार कार्यविधिअनुसार बजारमा लामो समयसम्म अधिक तरलता देखिएमा त्यसलाई व्यवस्थापन गर्न ६ महिना अवधिको दीर्घकालीन उपकरण प्रयोग गर्न सक्ने व्यवस्थालाई टेकेर यो कदम चालेको हो।
विशेष गरी लगानीका क्षेत्रहरू सुस्त रहँदा बैंकहरूमा पैसा थुप्रिने र यसले गर्दा निक्षेपको ब्याजदर निकै तल झर्ने जोखिम रहन्छ। यस्तो अवस्थामा बजारलाई सन्तुलनमा राख्न र ब्याजदरलाई एउटा निश्चित सीमाभित्र टिकाइराख्न केन्द्रीय बैंकले पटक-पटक यस्ता उपकरणहरू प्रयोग गर्दै आएको छ।