arrow

लचिलो मौद्रिक नीतिलाई निरन्तरता, ब्याजदर करिडोर पुनरावलोकन हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २ शनिबार
nepal-rastra-bank-new-81-5-27.jpg

काठमाडौँ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो समीक्षा गरेको छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गर्दै धेरै जसो हालका व्यवस्थाहरुलाई कायमै राखेको छ भने  ब्याजदर करिडोरलाई थप प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराइने स्थायी निक्षेप सुविधासम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने घोषणा गरेको छ । 

राष्ट्र बैंकले विदेशी विनिमय सञ्चिति र मुद्रास्फीति लक्ष्यअनुसार रहेको तथा न्यून आर्थिक वृद्धिको अवस्थालाई दृष्टिगत गर्दै लचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिएको  राष्ट्र बैंकले जनाएको छ ।

ब्याजदर करिडोर, बैंकदर, अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातसम्बन्धी विद्यमान व्यवस्थामा राष्ट्र बैंकले खासै कुनै सुधार गरेको छैन् । 

राष्ट्र बैंकले वर्तमान आर्थिक अवस्थालाई समेत केलाएको छ । राष्ट्रबैंकका अनुसारअर्थतन्त्रको वाह्य क्षेत्र सहज स्थितिमा छ । चालु आर्थिक वर्षको नौ महिनासम्म विप्रेषण आप्रवाह उल्लेख्य विस्तार भएकोले चालु खाता, शोधनान्तर बचत र विदेशी मुद्रा सञ्चिति बढ्दो क्रममा रहेको छ ।

तर, नेपालमा करिव ४० प्रतिशत विप्रेषण आप्रवाह पश्चिम एसियाबाट प्राप्त हुने गरेकोले सो क्षेत्रमा जारी तनाव कायम रहेमा विप्रेषण आप्रवाह प्रभावित हुने र इन्धन तथा आयातित वस्तुको मूल्य वृद्धि भई व्यापार घाटा विस्तार हुने समेतका कारण विदेशी विनिमय सञ्चितिमा दबाब पर्ने जोखिम छ। तथापि, विदेशी विनिमय सञ्चितिले आयात धान्ने क्षमता यस बैंकको लक्ष्यभन्दा माथि रहने प्रक्षेपण गरिएको छ ।

राष्ट बैंकका अनुसार मुद्रास्फीति लक्ष्यभन्दा न्यून छ । विश्व भूराजनीतिक तनाव जारी रहेमा मुद्रास्फीतिमा चाप पर्ने जोखिम छ। पश्चिम एसियामा युद्ध शुरू भएयता पेट्रोलियम पदार्थ, उद्योगको लागि आवश्यक कच्चा पदार्थ र कतिपय उपभोग्य वस्तुहरूको आपूर्ति श्रृंखला प्रभावित भएको छ । उपभोक्ता मुद्रास्फीति लक्षित सीमाभित्र रहने प्रक्षेपण समेत राष्ट्र बैंकले गरेको छ ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा सामान्य बढे पनि आर्थिक गतिविधि सुधारसँगै यस्तो कर्जामा सुधार आउने अपेक्षा छ । २०८२ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाको प्राथमिक पुँजी र पुँजीकोषको जोखिम भारित सम्पत्तिसँगको अनुपात नियामकीय मापदण्डभित्रै छ ।

समग्रमा वित्तीय स्थायित्व कायम रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार विगत तीन वर्षदेखि वित्तीय प्रणालीमा अधिक तरलताको स्थिति रहँदै आएको छ ।

यसरी वित्तीय प्रणालीमा लामो समय अधिक तरलता रहँदा विभिन्न समष्टिगत आर्थिक परिसूचकमा पर्न सक्ने प्रभावलाई व्यवस्थापन गर्न आवश्यक कदमका लागि बैंक सजग रहेको राष्ट बैंकले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ