अब मोबाइल बैंकिङबाटै धितोबिना १० लाखसम्म कर्जा पाइने
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २६ मंगलबार
351
Shares
काठमाडौँ । नेपाल राष्ट्र बैंकले डिजिटल लेन्डिङ (विद्युतीय कर्जा) को दायरा विस्तार गर्दै लघु, साना तथा मझौला व्यवसायीलाई मोबाइल बैंकिङमार्फत धितोबिनै १० लाख रुपैयाँसम्म कर्जा लिन सक्ने व्यवस्था गरेको छ।
केन्द्रीय बैंकले ‘विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जा (डिजिटल लेन्डिङ) सम्बन्धी मार्गदर्शन, २०७८’ लाई परिमार्जन गर्दै अल्पकालीन चालू पुँजी कर्जाका लागि पाँच लाख रुपैयाँ र दीर्घकालीन चालू पुँजी कर्जाका लागि १० लाख रुपैयाँसम्म डिजिटल कर्जा उपलब्ध गराउने व्यवस्था गरेको हो।
यस संशोधित नयाँ व्यवस्थाअनुसार सम्बन्धित ग्राहकले मोबाइल बैंकिङ एपमार्फत आवेदन दिएपछि बैंकको स्वचालित प्रणालीद्वारा तुरुन्तै मूल्याङ्कन हुनेछ र प्रक्रिया मिलेको केही मिनेटमै कर्जाको रकम सिधै खातामा जम्मा हुनेछ।
यस आधुनिक कर्जा प्रणालीका लागि ग्राहकले कुनै पनि प्रकारको धितो राख्नुपर्ने छैन भने बैंकको शाखा कार्यालयमा भौतिक रूपमा उपस्थित हुन वा झन्झटिलो कागजी प्रक्रिया पूरा गर्नुपर्ने बाध्यतासमेत रहने छैन।
नेपाल राष्ट्र बैंकका अनुसार यो व्यवस्थाले बजारमा डिजिटल कारोबार गरिरहेका लघु तथा साना व्यवसायीहरूको वित्तीय पहुँच विस्तार गर्न र उनीहरूको व्यवसाय प्रवर्द्धनमा निकै महत्त्वपूर्ण सहयोग पुर्याउनेछ।