arrow

कांग्रेसको मधेस सभा फागुन ६ गते हुने: गगन थापाले सम्बोधन गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २५ आइतबार
gagan-thapa-27-09.jpg

काठमाडौँ । नेपाली कांग्रेसको बहुप्रतिक्षित 'मधेस सभा' आगामी फागुन ६ गते हुने भएको छ। यसअघि फागुन ७ गते गर्ने भनिएको यो सभा प्राविधिक कारणले एक दिन अगाडि सारिएको हो।

शनिबार बसेको मधेस प्रदेश कार्यसम्पादन समितिको बैठकले जनकपुरधामस्थित तिरहुतिया गाछीमा भव्य रूपमा सभा आयोजना गर्ने निर्णय गरेको छ। बैठकले सभालाई सुव्यवस्थित बनाउन विभिन्न जिम्मेवारीहरू समेत बाँडफाँट गरेको छ, जसअनुसार प्रचार–प्रसारको कमान्ड नितेशकुमार गुप्तालाई र मञ्च व्यवस्थापनको जिम्मेवारी योगेन्द्र पञ्जियारलाई दिइएको छ।

बैठकमा सभाको तयारी, सुरक्षा व्यवस्थापन र संगठनात्मक परिचालनका विषयमा व्यापक छलफल भएको छ। मधेश प्रदेशका ३२ वटै निर्वाचन क्षेत्रबाट उल्लेख्य संख्यामा कार्यकर्ता र शुभेच्छुकहरूलाई जनकपुर उतार्ने लक्ष्य कांग्रेसले राखेको छ।

यस सभालाई शक्ति प्रदर्शनको रूपमा समेत हेरिएको छ। मधेश प्रदेशका सबै जिल्ला र क्षेत्रका समितिहरूलाई सभाको तयारीमा लाग्न निर्देशन दिइसकिएको छ।

यो ऐतिहासिक मधेश सभामा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा प्रमुख अतिथिका रूपमा सहभागी हुने तय भएको छ। उनीसँगै केन्द्रका अन्य पदाधिकारीहरू र प्रभावशाली नेताहरूको पनि उपस्थिति रहने जानकारी प्रचार–प्रसार विभाग प्रमुख गुप्ताले दिएका छन्।

मधेशका मुद्दाहरू र पार्टीको आगामी रणनीतिका बारेमा सभामा विशेष चर्चा हुने अपेक्षा गरिएको छ। कांग्रेसले यस सभामार्फत मधेशमा आफ्नो पकड अझ बलियो बनाउने योजना बनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ