चुनावअघि कसैसँग गठबन्धन हुँदैन : कांग्रेस [भिडियो]
एक सय ६५ निर्वाचन क्षेत्रमै एक्लै लड्छौँ
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २२ बिहिबार
716
Shares
काठमाडौँ । नेपाली कांग्रेसले आगामी निर्वाचनअघि कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगर्ने स्पष्ट पारेको छ। पार्टीको केन्द्रीय प्रचारप्रसार समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले कांग्रेस एक्लै चुनावी मैदानमा उत्रिएको र देशका सबै १६५ निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारहरू कायम रहेको जानकारी दिए।
उनले पार्टी अहिले पूर्ण रूपमा चुनावी प्रक्रियामा केन्द्रित रहेको र विजयको दिशामा अघि बढिरहेको दाबी गरे। संसद् पुनःस्थापना जस्ता विषयमा चलिरहेका हल्लाहरूले निर्वाचनबाट जनताको ध्यान मोड्ने प्रयास गरेको उल्लेख गर्दै उनले त्यस्ता कुरामा कांग्रेसको कुनै टिप्पणी नरहेको प्रस्ट पारे।
प्रवक्ता चालिसेले निर्वाचन अवधिभर कुनै पनि किसिमको चुनावी तालमेल नहुने र कांग्रेस आफ्नै बलमा चुनाव लड्ने कुरालाई बारम्बार दोहोर्याए। उनले नागरिक र राजनीतिक दलहरूले स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा मतदान तथा प्रचारप्रसार गर्न पाउनु उनीहरूको अधिकार भएको बताए।
यसका लागि आवश्यक सुरक्षा र व्यवस्था मिलाउन उनले सरकारलाई आग्रह समेत गरे। कांग्रेसले चुनावमा पूर्ण विश्वास राख्ने हुनाले पार्टीको सम्पूर्ण शक्ति अहिले गाउँगाउँमा परिचालन गरिएको उनले जानकारी दिए।
उनले मतदाताहरूलाई मतदान गर्दा पार्टीको विगतको इतिहास र भविष्य निर्माण गर्न सक्ने क्षमतालाई हेरेर मात्र उम्मेदवार रोज्न आग्रह गरे। भेटघाट वा अदालती प्रक्रियाका कुरा गरेर चुनावी माहोल बिगार्ने तत्वहरूसँग सचेत रहन भन्दै उनले कांग्रेस आफ्ना एजेन्डासहित जनताको घरदैलोमा पुगिसकेको बताए।
निर्वाचनलाई एउटा उत्सवका रूपमा लिँदै उनले सबै लोकतन्त्रवादी शक्तिहरूलाई मर्यादित रूपमा चुनावी अभियानमा लाग्न समेत आह्वान गरे।