सामाजिक सद्भाव कमजोर बनाउने कामको विपक्षमा एमालेले आफूलाई उभ्याउनेछः ईश्वर पोखरेल
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २१ बुधबार
2k
Shares
काठमाडौँ । नेकपा एमालेका नेता ईश्वर पोखरेलले सामाजिक सद्भावलाई कमजोर बनाउने कामको विपक्षमा एमालेले आफूलाई उभाउने बताएका छन् ।
बुधबार काठमाडौँमा आयोजित सूर्य ध्वजावाहक उम्मेद्वारहरूसँग संवाद कार्यक्रममा उनले सामाजिक सद्भाव राष्ट्रिय एकताको आधार भएको भन्दै यसलाई कमजोर बनाउने कुनै पनि कामको विपक्षमा र सामाजिक सद्भावलाई कायम गर्ने मुद्धामा एमाले केन्द्रीत हुने बताए ।
उनले भने, ‘सामाजिक सद्भाव हाम्रो राष्ट्रिय एकताको आधार हो । यो सामाजिक सद्भावलाई कमजोर बनाउने कुनै पनि काम हुन्छ भने एमालेले सहन सक्दैँन । त्यसको विपक्षमा आफूलाई उभाउने काम गर्छ र सामाजिक सद्भावलाई कायम गर्ने मुद्धामा हामी केन्द्रित हुने छौँ । यो घोषणा पत्रले व्यक्त गर्ने प्रतिबद्धताको रुपमा आउने छ । त्यसपछि विकास निर्माणसँग सम्बन्धित महत्वपूर्ण मुद्धाहरू जुन हिजो नेकपा एमालेको सरकार भएको बेला शुरू गरिएका थिए । ती विषयमा हामी केन्द्रित हुन चहान्छौँ ।’
उनले शिक्षा, स्वास्थ्य, रोजगारी, उत्पादन र जनताले सेवा प्राप्त गर्ने धेरै क्षेत्रमा जुन समस्याहरू देखापरेका छन् त्यसलाई सम्बोधन गर्ने पनि एमालेको प्रतिबद्धता रहने बताए ।
यस पटकको घोषणा पत्रमा एमाले अलि पृथव तरिकाले प्रस्तुत भएको भन्दै राम्रो काममात्र होइन कुन काम कति बेला गर्ने भन्ने बारेमा किटान गरेर घोषणा पत्र तयार गरेको पनि उनको भनाइ छ ।
उनले भने, ‘यस पटकको घोषणा पत्रमा अलि पृथक तरिकाले हामी प्रस्तुत भएको देख्न सक्नुहुन्छ । त्यो भनेको हामी निश्चित मुद्धाहरूमा कार्य तालिकाका साथ प्रस्तुत हुन्छौँ । राम्रो राम्रो काममात्र होइन कुन काम कति बेला गर्छौँ भन्ने बारेमा किटान गरेर हामी आउने छौँ ।’
साथै, उनले जेन-जीको मुद्धामा पार्टीको विमति नभए पनि आन्दोलनको नाममा भएको षड्यन्त्रमा गम्भीर असहमति र विरोध रहेको भन्दै यो कुरामा दुईमत नरहेको उल्लेख गरे ।
उनले भने, ‘जेन-जी समूहले उठाएको मागहरू अनुचित थिएनन् । त्यो मागहरू पूरा गराउने सिलसिलामा प्रारम्भ गरिएको स्टेपहरु अनुचित थिएनन् तर त्यसको केही समयपछि जुन हाइज्याक भयो, यो मेरो शब्द होइन आन्दोलनकारीहरूले नै हाइज्याक भन्ने शब्द प्रयोग गरेका छन् । हाइज्याक भइसकेपछि अवस्था षड्यन्त्रतर्फ गएको हो । यसलाई अलि छुट्टाएर बुझ्नुपर्छ। जेन-जीको मुद्धामा हाम्रो विमति होइन तर जुन आन्दोलनको नाममा षड्यन्त्र भए त्यसमा हाम्रो गम्भीर असहमति र विरोध हो, त्यसकारण हामी यसको विरोध गर्छौँ यसमा कुनै दुईमत छैन ।’