काठमाडौँ । नेपाल आयल निगमले विगत केही दिनदेखि काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यास (एलपी ग्यास) को अभाव भएको भनी आएका समाचार र जनगुनासोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। निगमले एक प्रेस विज्ञप्ति जारी गर्दै बजारमा ग्यासको अभाव नरहेको र जाडोयामको माग धान्न पुग्ने गरी आयात भइरहेको स्पष्ट पारेको छ।
निगमका अनुसार देशभरका उद्योगीहरूलाई मासिक ४९,५०० मेट्रिक टन ग्यासको कोटा (एलोकेसन) उपलब्ध गराइएको छ, जसमध्ये नोभेम्बरमा ४७,२६४ मेट्रिक टन, डिसेम्बरमा ४८,५३१ मेट्रिक टन र जनवरीमा ४७,३०४ मेट्रिक टन ग्यास आयात गरी बिक्री वितरण भइसकेको छ।
बजारमा केही सीमित उद्योगका ग्यास सिलिण्डरको मात्र अभाव देखिएको भन्दै निगमले ती उद्योगहरूलाई तत्काल आपूर्ति सहज बनाउन र बजार सामान्यीकरण गर्न निर्देशन दिइसकेको जानकारी दिएको छ। केही समयभित्रै आपूर्ति व्यवस्था पूर्ण रूपमा सामान्य हुनेमा निगमले उपभोक्तालाई ढुक्क हुन आग्रह गरेको छ।
साथै, आगामी फागुन २१ गते हुने निर्वाचन र हालको मागलाई मध्यनजर गर्दै फेब्रुअरी महिनाका लागि साविकको कोटामा २,००० मेट्रिक टन थप गरी भारतीय आयल कर्पोरेसनबाट आयात गर्न उद्योगीहरूलाई अनुमति दिइसकिएको पनि विज्ञप्तिमा उल्लेख छ।
निगमले बजारमा ग्यासको अभाव हुने डरले आवश्यकताभन्दा बढी सिलिण्डर खरिद नगर्न र घरमा अनावश्यक भण्डारण नगर्न सर्वसाधारणलाई हार्दिक अनुरोध गरेको छ। कृत्रिम अभाव सिर्जना हुन नदिन र आपूर्ति प्रणालीलाई सन्तुलित राख्न उपभोक्ताको सहयोग चाहिने निगमको ठहर छ।
आपूर्तिमा समस्या देखिएका उद्योगीहरूलाई कडाइका साथ अनुगमन गरिरहेको भन्दै निगमले बजारमा ग्यासको नियमित उपलब्धता सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ।