arrow

चुनावको मुखमा कांग्रेस प्रवेश गर्नेको लहर बढ्दो 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १९ सोमबार
congress-prabesh-lahar-82-10-19.jpg

काठमाडौँ । दोस्रो विशेष महाधिवशेनमा गगनकुमार थापा सभापति भएपछि विभिन्न पार्टीबाट नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गर्ने क्रम बढ्दै गएको छ । पार्टीमा युवा नेतृत्व आएपछि देश र भेष बदल्ने आशाका साथ अन्य पार्टीका नेता कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गर्ने लर्को लागेको हो । 

चुनावको मुखमा विभिन्न दल त्यागेर कांग्रेस प्रवेश गर्नेहरूको लहर बढ्दो रहेको भन्दै पार्टीमा उत्साह थपिएको नेताहरूले बताएका छन् । गगन थापा आफ्नो पकड क्षेत्र काठमाडौँ  क्षेत्र नम्बर ४ छाडेर सर्लाही ४ बाट प्रतिनिधि सभामा उम्मेदवार बनेपछि विभिन्न पार्टीबाट कांग्रेसमा प्रवेश गर्ने लहरले थप तीव्रता पाएको हो । 

उनलाई सघाउनका लागि सर्लाही ४ का प्रदेश सांसद उम्मेदवारदेखि गोडैता नगरपालिकाका चार वडाका वडाध्यक्ष कांग्रेसमा प्रवेश गरेका हुन् । बहुजन पार्टीबाट सर्लाही क्षेत्र नं ४ ख प्रदेशका उम्मेदवार कृष्णकुमार कुशवाहसहित चार वडाध्यक्षलाई थापाले सर्लाहीमा आयोजित एक कार्यक्रममा पार्टी प्रवेश गराए । 

कार्यक्रममा कुशवाहसहित गोडैता नगरपालिका वडा नं १ का वडाध्यक्ष सुजित महतो, वडा नं २ का वडाध्यक्ष अजयप्रसाद शाह, वडा नं ५ का वडाध्यक्ष प्रकाश गुप्ता, वडा नं ११ का वडाध्यक्ष विश्वनाथ पण्डित कांग्रेसमा प्रवेश गरेर गगन थापालाई सहयोग गर्ने प्रतिबद्धता जनाए । 

वडा नं १ का वडाध्यक्ष महतो र वडा नं २ का वडाध्यक्ष नेपाल कम्युनिष्ट पार्टी, वडा नं २ का वडाध्यक्ष शाह नेपाल कम्युनिष्ट पार्टी, वडा नं ५ का वडाध्यक्ष गुप्ता जसपा, वडा नं ११ का वडाध्यक्ष पण्डित एमालेबाट वडाध्यक्ष विजयी भएका थिए । 

त्यसैगरी बसबरियाका जसपा नेता मुकेश यादव, वडा सदस्य लालु मन्सुर पनि कांग्रेस प्रवेश गरेका छन् । मुलुकको विकास गर्न सक्ने भिजन भएको कांग्रेस सभापति थापा आफ्नो क्षेत्रमा आएकाले चुनावमा जिताउनका लागि कांग्रेस प्रवेश गरेको उनीहरूले बताए । 

यसअघि सर्लाही क्षेत्र नं ४ का स्वतन्त्र उम्मेदवार महेन्द्र यादव पनि कांग्रेसमा प्रवेश गरेका थिए ।

नयाँ सोचका साथ अगाडि बढेको कांग्रेसको नीति मन पराएरै पहिले कांग्रेस छाडेकाहरूसमेत पार्टीमा फर्कन थालेका छन् । सो क्रममा जुम्ला जिल्लाकी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी उपसभापति तारा शाही पार्टी छाडेर कांग्रेसमै फर्किएकी छिन् ।
 
रास्वपाले लिएको राजनीतिक दिशाप्रति असन्तुष्ट रहँदै उनले सो पार्टी परित्याग गरेको घोषणा गरेकी हुन् । शाही रास्वपामा जानुअघि कांग्रेसकै राजनीतिमा सक्रिय थिइन् । रास्वपाको पछिल्लो गतिविधि र राजनीतिक दिशा नै अस्पष्ट रहेको भन्दै उनले अस्पष्ट राजनीतिक यात्रा गन्तव्यविहीन हुने भन्दै पुन: आफ्नै पुरानो घर फर्किएको बताइन् ।

कांग्रेसकी केन्द्रीय सदस्य रामुदेवी खड्काले शाहीको कांग्रेस प्रवेश केवल दल परिवर्तनमात्र नभइ वैकल्पिक राजनीतिको दाबी गरिरहेको दलको नीति माथिको प्रश्न पनि भएको बताइन् । उनले भनिन्, 'यो हिसाबकिताब जनताले पनि गरिरहेका छन् ।' 

यता ०७९ को निर्वाचनमा प्रदेश सभाको टिकट नपाएपछि तत्कालीन कांग्रेस धनुषा उपसभापति सन्तोष यादव एमालेमा प्रवेश गरेका थिए । उनी केही समयअघि कांग्रेसमा पुनः फर्केका छन् ।

यस्तै गएको स्थानीय तह निर्वाचनमा जनकपुर उपमहानगरको उपमेयरको टिकट नपाएपछि नेतृ रुना झा एमाले प्रवेश गरेर जनकपुरको उपमेयर उम्मेदवार बनेकी थिइन् । उनी पनि दुई दिन अगाडि मात्रै कांग्रेसमा पुनः फर्केकी छिन् ।

यस्तै गोरखा क्षेत्र नम्बर-१ बाट नेकपा युवा नेता तथा सक्रिय कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । शहीद लखन गाउँपालिका वडा नम्बर ९ निवासी कृष्ण लामिछानेले नेकपा पार्टी परित्याग गर्दै कांग्रेसमा आएका हुन् ।

लामिछानेले यसअघि वाईसीएल इन्चार्ज भएर काम गरेका थिए । उनले आगामी निर्वाचनमा कांग्रेसका उम्मेदवार प्रेम खत्रीलाई सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।

काठमाडौँमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस गोरखा–काठमाडौं सम्पर्क समितिका सभापति जनार्दन अर्यालले लामिछानेलाई पार्टी सदस्यता प्रदान गर्दै स्वागत गरे । 

पार्टी प्रवेशपछि बोल्दै लामिछानेले कांग्रेसमा पछिल्लो समय देखिएको नेतृत्व परिवर्तन, संगठनात्मक सक्रियता तथा पार्टी सभापति गगन थापा प्रधानमन्त्रीका उम्मेदवार बनेपछि कांग्रेसप्रति आकर्षण बढेको बताए । उनले कांग्रेसले मुलुकलाई स्थायित्व र विकासको दिशामा अघि बढाउन सक्ने विश्वासका साथ पार्टी प्रवेश गरेको उल्लेख गरे ।

यस्तै तनहुँमा जेन-जी आन्दोलनमा लागेकाहरू ५८ जना फर्किएको तनहुँ कांग्रेसका सभापति जितप्रकाश आलेले बताए । उनका अनुसार जेन-जी आन्दोलनमा लागेका युवाहरू पुसमै कांग्रेसमा प्रवेश गरेका हुन् । सोमबार भने अन्य पार्टीबाट सम्पर्कमा आएका नेता कार्यकर्ताहरू कांग्रेसमा आएको बताए । 

यस्तै ललितपुरको कोन्ज्योसोम गाउँपालिका ४ नल्लूमा चार जना स्थानीय नेता नेपाल कम्युनिस्ट पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका छन् । 

कांग्रेसका सहमहामन्त्रीसमेत रहेका प्रतिनिधि सभा निर्वाचनमा ललितपुर–१ का उम्मेदवार उदयशमशेर राणाले नेकपाको सक्रिय राजनीति गरेका चार नेतालाई पार्टी प्रवेश गराएका हुन् ।  

कांग्रेस प्रवेश गर्नेहरूमा नेकपा पूर्व वडा कमिटी अध्यक्ष शेरबहादुर स्याङ्ताङ, नेकपा एमालेका पूर्व वडा कमिटी अध्यक्ष प्रताप स्याङ्ताङ, नेकपा माओवादीका सक्रिय सदस्यहरू साहिला स्याङ्ताङ र राजु स्याङ्ताङ रहेका छन् ।

उनीहरूलाई पार्टी प्रवेश गराउँदै राणाले पुराना र अनुभवी नेताहरूको आगमनले पार्टीलाई थप ऊर्जा मिलेको र यसले आगामी निर्वाचनको अंक गणितमा समेत दूरगामी प्रभाव पार्ने जिकिर गरे ।

पार्टी प्रवेशपछि बोल्दै नेताहरूले वामपन्थी दलहरूमा बढ्दो साङ्गठनिक विचलन र जनताप्रतिको उत्तरदायित्व कम हुँदै गएकाले आफूहरूले विकल्प रोजेको बताए ।

उनीहरूले कांग्रेसको लोकतान्त्रिक कार्यशैली, विकासमुखी दृष्टिकोण र जनतासँग प्रत्यक्ष जोडिने संस्कृतिका कारण आफूहरू आकर्षित भएको उल्लेख गरे ।

त्यस्तै दोलखामा पनि एमालेका युवाहरू कांग्रेसमा प्रवेश गरेका छन् । एमालेमा आबद्ध तामाकोशी गाउँपालिकाका युवाहरू विराज श्रेष्ठ, राजीव श्रेष्ठ, डोरबहादुर भण्डारी र उद्धव भुजेल कांग्रेसमा प्रवेश गरेका हुन् । 

उनीहरूलाई दोलखा कांग्रेसका प्रतिनिधि सभा सदस्यका उम्मेदवार एवं कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले स्वागत गरे । शिवाकोटीले पहिलेदेखि भन्दै आएका छन्,'हामी सक्छौँ । परिवर्तन सम्भव छ ।' 

यी त उदाहरण प्रतिनिधिमात्र हुन् । अहिले हरेक जिल्लामा कांग्रेसमा प्रवेश गर्नेहरूको लहर चलेको पार्टीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ