रास्वपाप्रति असन्तुष्टि बढ्दै, धमाधम कांग्रेसमा प्रवेश, जुम्लाकी जिल्ला उपसभापति शाही फर्किन् कांग्रेसमै
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १९ सोमबार
3.1k
Shares
जुम्ला । जुम्ला जिल्लाकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उपसभापति तारा शाहीले पार्टी परित्याग गरेकी छिन् । रास्वपा छाडेर उनी नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन् । रास्वपाले लिएको राजनीतिक दिशाप्रति असन्तुष्ट रहँदै उनले सो पार्टी परित्याग गरेको घोषणा गरेकी हुन् ।
शाही रास्वपामा जानु अघि नेपाली कांग्रेसकै राजनीतिमा सक्रिय थिइन्। रास्वपाको पछिल्लो गतिविधि र राजनीतिक दिशा नै अस्पष्ट रहेको भन्दै उनले अस्पष्ट राजनीतिक यात्रा गन्तब्यविहीन हुने भन्दै पुन: आफ्नै पुरानो घर फर्किएको बताइन् ।
उनी कांग्रेसमा फर्किएसँगै जुम्लाको राजनीतिक माहोल फेरबदल हुने अनुमान गरिएको छ । जसले गर्दा चुनावी अंक गणितमा कांग्रेसलाई बल पुग्ने अनुमान गरिएको हो । `शाहीको कांग्रेस प्रवेश केवल दल परिवर्तन मात्र होइन, वैकल्पिक राजनीतिको दाबी गरिरहेको दलको नीति माथिको प्रश्न पनि हो, यो हिसाबकिताब जनताले पनि गरिरहेका छन्´, कांग्रेसकी केन्द्रीय सदस्य रामुदेवी खड्काले भनिन् ।
केन्द्रीय सदस्य खड्काले नै शाहीलाई खादा र अबिर लगाएर पार्टीमा स्वागत गरेकी हुन् । खड्काका अनुसार शाहीको पुनः आगमनले कांग्रेसको संगठनात्मक सशक्तिकरणमा सकारात्मक सन्देश गएको छ ।
कांग्रेस जुम्लाका उपसभापति कर्मा बूढाले कांग्रेसको संगठनात्मक संरचना, निर्णय प्रक्रिया र राजनीतिक निरन्तरताले शाहीलाई पुनः आकर्षित गरेको बताए । शाही जुम्लाको चन्दननाथ नगरपालिका–५ की स्थानीय हुन् ।
उनी स्थानीय राजनीतिमा प्रभाव राख्ने ब्यक्तिका रुपमा चिनिन्छिन् । यसअघि वैकल्पिक राजनीतिको नारासहित रास्वपामा प्रवेश गरेकी उनको प्रभावकै कारण केही समयमै जिल्ला उपसभापति भएकी थिइन् ।
निष्ठाको राजनीति गर्ने शाही रास्वपाको दिशाहीन यात्रामा सँगै हुन नसक्ने निचोडसहित सो दल छाड्ने निष्कर्षमा पुगेकी हुन् ।
शाहीको कांग्रेस फिर्तीलाई रास्वपाभित्र जारी असन्तुष्टिको संकेतका रूपमा मात्र व्याख्या नगरेर अनुभव, संरचना र स्थानीय आधार भएका दलतर्फ नेताहरू फर्किन थालेको प्रवृत्तिका रूपमा हेरिएको छ।
उनीजस्तै कांग्रेस छाडेर कुनै कारणवश रास्वपामा गएका नेताहरू धमाधम कांग्रेसमै फर्किरहँदा कांग्रेसको नयाँ युवा नेतृत्वमा भरोसा बढेको देखिएको छ ।