arrow

फेरि ठेक्का लगाइँदै बागलुङ-बिहुँ बयलडाँडा सडक

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १८ आइतबार
badhi-madhyapahadi-baglung-82-5-16.jpg

बागलुङ । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ बजारदेखि बिहुँ बयलडाँडाको १३ किलोमिटर सडक नौ वर्षमा पुनः ठेक्का लगाउने तयारी गरिएको छ । दुई वर्षमा कालोपत्र सक्नुपर्ने राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको थियो ।

नौ वर्षमा पाँचपटक म्याद थप्दा पनि नसकिएको सडकको ठेक्का रद्द गरेर पुनः ठेक्काका लागि अन्तिम मूल्याङ्कनमा रहेको पर्वतस्थित मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालयले जनाएको छ ।

निर्माण व्यवसायीले चरम लापरवाही गरेका कारण उक्त ठेक्का २०८२ पुस १७ गते तोडेर अन्तिम मूल्याङ्कनको काम भइरहेको इन्जिनियर कल्पना मिश्रले जानकारी दिए ।

मिश्रका अनुसार निर्माण व्यवसायीले गरेको हालसम्मको ८० प्रतिशत प्रगतिमध्ये भुक्तानी दिन बाँकी र क्षति पुगेको पूर्वाधारको मूल्याङ्कन भइरहेको छ ।

“ठेक्का रद्दको लामो प्रक्रिया छ, अर्थ मन्त्रालयले स्वीकृति छिटो दिएमा एक वर्षभित्रमा नयाँ ठेकेदार आउँछ, अहिले अन्तिम मूल्याङ्कन भइरहेको र मूल्याङ्कनमा निर्माण व्यवसायीलाई दिन बाँकी बिल भए दिने र आयोजनाले लिन पर्ने भए लिने गरी टुङ्ग्याइन्छ”, मिश्रले भने ।

उनका अनुसार पहिलो ठेकेदारसँग हिसाब मिलान भए पनि अहिलेको मूल्यका आधारमा बाँकी कामको लागत अनुमान गरेर अर्थ मन्त्रालयमा पठाइन्छ, अर्थले स्वीकृत गरेपछि नयाँ ठेक्का खुल्छ ।”

बागलुङ-बिहुँ खण्डको १३ किलोमिटर सडक २०७३ साल माघ १४ गते भारत-सिद्धिसाइसँग दुई वर्षमा सक्नेगरी रु ४३ करोड ६५ लाखमा सम्झौता भएको थियो । 

निर्माण व्यवसायीले १३ मध्ये छ किमी सडक कालोपत्र गरेर अलपत्र पारेपछि स्थानीयको आन्दोलनपछि ठेक्का रद्द गरिएको हो । कालोपत्र गरेको सडक पनि उप्किएर बिग्रिएको छ ।

दुई वर्षमा सक्ने ठेक्का नौ वर्षमा नसकिएपछि ठेक्काको पाँचौँपटक म्याद थप्दा पनि ८० प्रतिशतमात्र भौतिक प्रगति भएपछि म्याद थप नगरी निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने प्रक्रिया थालिएको हो । 

ठेकेदारले सडक स्तरोन्नति र कालोपत्रका लागि रु ३४ करोड ३१ लाख भुक्तानी लिइसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ