शहीदकै समर्पणका कारण आज हामी स्वतन्त्रताको युगमा श्वास फेर्न पाइरहेका छौँ - गगन थापा
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १६ शुक्रबार
2.3k
Shares
तस्बिर : फाइल
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शहीदप्रति हार्दिक श्रद्धासुमन अर्पण गरेका छन् । शहीद दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै सभापति थापाले नेपाली जनताको अधिकार र स्वतन्त्रताका लागि २००७ सालको जनक्रान्ति अघिदेखि २०८२ को ‘जेन-जी’ विद्रोहसम्म, इतिहासका विभिन्न कालखण्डमा भएका समस्त आन्दोलन र संघर्षहरूमा आफ्नो अमूल्य जीवन आहुति दिने सम्पूर्ण वीर शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
उनले भनेका छन्, 'उहाँहरूले आफ्नो जीवन देश र जनताका लागि समर्पण गरेकै कारण आज हामी स्वतन्त्रताको युगमा श्वास फेर्न पाइरहेका छौँ ।'
सुदृढ र सबल लोकतन्त्रबाट मात्रै नेपाललाई शान्त र समुन्नत राष्ट्रका रूपमा रूपान्तरण गर्न सकिन्छ भन्दै उनले वीर शहीदहरूले देखाएको त्याग, बलिदान र आदर्शको मार्गलाई आत्मसात् गर्दै समुन्नतिको दिशामा दृढतापूर्वक अगाडि बढ्नु हाम्रो र नवीन पुस्ताको दायित्व रहेको बताए ।
उनले शहीद दिवसका अवसरमा उनीहरूको अदम्य साहस, संकल्प र आदर्शप्रति उच्च सम्मान प्रकट गर्दै शहीदका सपना पूरा गर्ने र उनीहरूले देखाएको बाटोमा हिँड्ने प्रण गर्नेसमेत बताए ।
विज्ञप्तिमा भनिएको छ, 'नेपाली कांग्रेसको नेतृत्वमा संविधान सभाबाट निर्मित ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान’ मा लिपिबद्ध जनअधिकारलाई प्रभावकारी कार्यान्वयन र समयसापेक्ष परिमार्जन गर्दै, स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सामूहिक प्रयत्नबाट ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ को लक्ष्य पूरा गर्न आजको दिनले हामी सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास लिएका छौँ ।'