निर्वाचन सुरक्षामा कडाइ: काठमाडौँका सडकमा कुकुरसहितको 'एकीकृत गस्ती' शुरू
संवेदनशील स्थानहरूमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोली खटाइयो
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १५ बिहिबार
875
Shares
काठमाडौँ । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी जिल्ला प्रहरी परिसर काठमाडौँले सुरक्षा व्यवस्था कडा बनाउँदै संयुक्त गस्ती शुरु गरेको छ।
जिल्ला सुरक्षा समिति र प्रहरी परिसरको निर्णयअनुसार राति र बिहानको समयमा कुकुरसहितको एकीकृत गस्ती थालिएको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले जानकारी दिए। बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले लागुऔषध र विस्फोटक पदार्थको पहिचान गर्न कुकुरसहितको चेकजाँचलाई तीव्रता दिएको बताए।
थापाका अनुसार प्रहरीले विभिन्न स्थानमा 'सरप्राइज' चेकिङ समेत गरिरहेको छ। सुरक्षा जाँचका क्रममा शङ्कास्पद देखिएका व्यक्तिहरूलाई नियन्त्रणमा लिएर विस्तृत अनुसन्धानपछि मात्र छाड्ने गरिएको उनले बताए। "संवेदनशील स्थानहरूमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोली खटाइएको छ," उनले भने, "विभिन्न रुटहरू तय गरेर एकीकृत गस्ती अभियान चलाएका छौँ।"
प्रहरी प्रमुख थापाले निर्वाचन विरोधी गतिविधि गर्ने वा निर्वाचन बिथोल्न सक्ने समूहहरूबारे सूक्ष्म सूचना सङ्कलन भइरहेको र सोही आधारमा सुरक्षाकर्मी परिचालन गरिएको स्पष्ट पारेका छन्।