२० डिग्रीको ठिहीमा युक्रेन 'मानवीय प्रकोप' को सँघारमा
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १५ बिहिबार
2.1k
Shares
काठमाडौँ । युरोपेली युनियनकी शीर्ष कूटनीतिज्ञ काजा कालासले युक्रेन अहिले "मानवीय प्रकोप" को सँघारमा रहेको चेतावनी दिएकी छन्।
ब्रसेल्समा भएको युरोपेली संघको बैठकमा बोल्दै कालासले युद्ध अन्त्यका लागि अमेरिकाको अग्रसरतामा अबुधाबीमा वार्ता भइरहँदा पनि रूसले युक्रेनीहरूलाई प्रहार गर्न नछाडेको बताइन्। रूसले युक्रेनीहरूलाई दुःख दिएर आत्मसमर्पण गराउन खोजिरहेको उनको दाबी छ।
"निकै कठिन जाडोको समयमा युक्रेनीहरू साँच्चै पीडित छन्," उनले भनिन्। तापक्रम –२० डिग्री सेल्सियसभन्दा तल झरेको बेला रूसले युक्रेनको ऊर्जा र पूर्वाधारमा आक्रमण बढाएर मानिसहरूलाई अन्धकार र चिसोमा बस्न बाध्य पारेको उनले उल्लेख गरिन्।
यसैबीच, युरोपेली युनियनले युक्रेनको पावर ग्रिडका लागि सहयोग बढाउने र अर्को महिना युद्धको चौथो वार्षिकोत्सव पारेर मस्कोमाथि १९ औँ चरणको प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ।
स्वीडेनकी विदेश मन्त्री मारिया स्टेनरगार्डले मस्कोको राजस्व रोक्न ऊर्जा ढुवानी गर्ने सबै रूसी जहाजहरूमा "पूर्ण समुद्री प्रतिबन्ध" लगाउन आह्वान गरेकी छन्। उनले रूसबाट मल आयात रोक्न र युरोपेली संघबाट रूसतर्फ हुने विलासी सामानको निर्यातमा पनि प्रतिबन्ध लगाउन आग्रह गरेकी छन्। यस्तै, एस्टोनियाका विदेश मन्त्रीले रूसी नागरिकहरूमाथि समन्वित रूपमा 'सेन्जेन भिसा' प्रतिबन्ध लगाउन युरोपेली देशहरूलाई आग्रह गरेका छन्।