arrow

ग्रीनल्याण्ड विवादले तरंगित युरोप: अब कतार र उत्तर अफ्रिकाबाट ग्यास ल्याउने तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १५ बिहिबार
european-union-eu.jpg

काठमाडौँ । युरोपेली सङ्घ (ईयू) का ऊर्जा आयुक्त डान जोर्गेनसेनले तरलीकृत प्राकृतिक ग्यासका लागि युरोप पूर्ण रूपमा अमेरिकामाथि निर्भर हुन नहुने बताएका छन्। बुधबार ब्रसेल्समा पत्रकारहरूसँग कुरा गर्दै उनले ग्रीनल्याण्डबारे उब्जिएको विवाद र भूराजनीतिक उथलपुथललाई एउटा गम्भीर चेतावनीका रूपमा लिनुपर्ने उल्लेख गरे।

जोर्गेनसेनका अनुसार रूसबाट हुने ऊर्जा आयात घटाउँदै जाँदा युरोपले एउटा निर्भरतालाई अर्को निर्भरतासँग प्रतिस्थापन गर्ने जोखिम उठाइरहेको छ। उनले भने, "हामी रुसी ग्यासको विकल्प खोज्दै गर्दा अमेरिकामाथि मात्रै आश्रित हुनुहुँदैन।" ईयूले अब आपूर्तिका लागि क्यानाडा, कतार र उत्तर अफ्रिकाका देशजस्ता अन्य विकल्पहरू खोजिरहेको उनले जानकारी दिए। यसका लागि उनले आगामी महिनाहरूमा विभिन्न देशका प्रतिनिधिहरूसँग बैठक बस्ने र भ्रमण गर्ने योजना समेत बनाएका छन्।

गत वर्ष युरोपको एलएनजी आयातमा अमेरिकाको हिस्सा ६० प्रतिशतभन्दा बढी थियो। अमेरिकासँगको व्यापारिक सम्बन्धलाई सुधार गर्ने उद्देश्यले दुई पक्षबीच आगामी तीन वर्षभित्र ७५० अर्ब अमेरिकी डलर बराबरको ऊर्जा खरिद गर्ने सम्झौता समेत भएको थियो। तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेनमार्कको स्वायत्त क्षेत्र ग्रीनल्याण्ड कब्जा गर्ने चेतावनी दिएपछि ट्रान्सएटलान्टिक गठबन्धनमा नयाँ सङ्कट पैदा भएको छ।

जोर्गेनसेनले युरोपले ट्रम्पलाई रिस उठाउने जोखिम नचाहेको भए पनि ऊर्जा सुरक्षाका लागि विकल्पहरू विविधीकरण गर्नु अनिवार्य रहेको बताएका छन्। यदि युरोप अहिले अमेरिकाबाट अलग हुन खोज्यो भने त्यसले तत्कालका लागि युरोपेली बजारमा असर पर्न सक्नेतर्फ पनि उनले सचेत गराएका छन्।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ