arrow

शिशुले खाने दूधमा विषाक्तताको जोखिम, नयाँ मापदण्ड प्रस्ताव

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २० मंगलबार
human-milk-bank.jpg

काठमाडौँ ।  युरोपेली युनियनको खाद्य सुरक्षा निकाय (इएफएसए) ले सोमबार पाउडर दूधमा कहिलेकाहीँ पाइने विषाक्तता नियन्त्रणका लागि नयाँ मापदण्ड प्रस्ताव गरेको छ। शिशुका लागि प्रयोग हुने फर्मुला दूधमा प्रति लिटर ०.०५४ माइक्रोग्राम र ६ महिनाभन्दा माथिका शिशुका लागि तयार पारिने दूधमा प्रति लिटर ०.१ माइक्रोग्रामभन्दा बढी ‘सेरुलाइड’ (विषाक्त पदार्थ) हुनुले सुरक्षित स्तर पार गर्न सक्ने इएफएसएले उल्लेख गरेको छ। 

इटालीमा रहेको यो निकायले एक विज्ञप्ति जारी गर्दै जोखिम प्रबन्धकहरूलाई सावधानीका रूपमा कुन अवस्थामा उत्पादनहरू बजारबाट फिर्ता लिने भन्ने निर्णय गर्न मद्दत पुर्‍याउने उद्देश्यले यो सुझाव दिएको बताएको छ।

यो नयाँ सुझाव आएपछि बजारमा फैलिएको त्रास र विरोध साम्य हुने हो वा पुनः जारी रहने हो भन्नेबारे अहिले नै केही भन्न सकिने अवस्था छैन। नेस्ले, डानोन र ल्याक्टालिस जस्ता प्रसिद्ध विश्वव्यापी उत्पादकहरूले सेरुलाइडको जोखिम बढेपछि डिसेम्बरदेखि नै फ्रान्ससहित ६० भन्दा बढी देशहरूमा पठाइएका उत्पादनहरू बजारबाट फिर्ता बोलाएका छन्। 

विशेषगरी पहिलो ६ महिनाका शिशुका लागि तयार पारिएका दूधका ब्याचहरूमा समस्या देखिएपछि कम्पनीहरूले यस्तो कदम चालेका हुन्। फ्रान्सेली स्वास्थ्य मन्त्रालयका अनुसार जीवाणुले उत्पादन गर्ने यस्तो विषाक्तताले शिशुहरूमा बान्ता वा झाडापखाला जस्ता गम्भीर पाचन समस्याहरू निम्त्याउन सक्छ।

फ्रान्समा दुई जना शिशुको मृत्यु भएपछि यो विषयले थप गम्भीर मोड लिएको थियो। ती शिशुहरूले नेस्ले कम्पनीले फिर्ता लिएको त्यही फर्मुला दूध खाएका कारण ब्याक्टेरियाको सङ्क्रमण भएको हुन सक्ने आशङ्कामा दुई वटा छुट्टाछुट्टै अनुसन्धान सुरु गरिएको थियो। 

यद्यपि, फ्रान्सको स्वास्थ्य मन्त्रालयले अहिलेसम्म ती शिशुको मृत्यु र दूध सेवनबीच प्रत्यक्ष सम्बन्ध रहेको पुष्टि भने गरिसकेको छैन। युरोपेली आयोगले बालबालिकाका उत्पादनहरूमा सेरुलाइडको मात्रा निर्धारण गर्न इएफएसएलाई जिम्मेवारी दिएपछि यो नयाँ मापदण्ड सार्वजनिक भएको हो। यसले आगामी दिनमा शिशु खाद्य पदार्थको गुणस्तर र सुरक्षालाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ