arrow

मासिक दुई अर्बको बोझ: स्वास्थ्य बीमा प्रणाली टाट पल्टिने अवस्थामा, 'रिफर्म'को तयारी

महिनाकै दुई अर्ब बढी रकम खर्च हुने स्थिति आएकाले बीमाको भुक्तानी गर्नसक्ने अवस्था देखिएनः मन्त्री गौतम

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १५ बिहिबार
sudha-gautam-10.jpg

काठमाडौं । अन्तरिम सरकारकी स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रममा महिनाको दुई अर्बभन्दा बढी रकम खर्च हुने स्थिति आएकाले तत्काल भुक्तानी गर्न नसकिने बताएकी छन्। बिहीबार गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको ३० औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो जानकारी दिएकी हुन्।

उनका अनुसार चालु आर्थिक वर्षका लागि बीमामा विनियोजन गरिएको बजेट गत वर्षको ऋण तिर्दैमा सकिएकाले अहिले बीमाका लागि रकम नै बाँकी छैन। उनले बजेटभन्दा बढी दाबी हुन थालेकाले बीमा प्रणालीमा तत्काल 'रिफर्म' (सुधार) आवश्यक रहेको उल्लेख गरिन्। यद्यपि, उनले बीमाको रकम तत्काल भुक्तानी गराउन सम्बन्धित निकायलाई निर्देशन दिइसकेको समेत बताइन्।

मन्त्री गौतमले बीमाको बोझ हाल संघीय सरकारले मात्रै बोकिरहेको र यसमा प्रदेश तथा स्थानीय सरकारको पनि योगदान हुनुपर्नेमा जोड दिइन्। सम्बोधनका क्रममा उनले भनिन्, "मैले बीमा बोर्डका नवनियुक्त कार्यकारी डा. कृष्ण पौडेललाई तत्काल भुक्तानीको व्यवस्था मिलाउन भनेकी छु। तर मुख्य समस्या बजेटमै छ। यो वर्षको बजेटले पुरानो ऋण तिर्नै ठिक्क भयो। महिनाकै दुई अर्ब खर्च हुने अवस्था छ, जुन सरकारले धान्न सक्दैन। त्यसैले अब नयाँ ढंगले सुधार गर्दैछौँ।"

उनले संविधानले तोकेको ९८ किसिमका आधारभूत औषधि र सेवा निःशुल्क हुनुपर्नेमा त्यहाँ पनि बीमा जोडिनु गलत भएको बताइन्। उनले ऐन अनुसार सुर्तीजन्य पदार्थबाट संकलन हुने स्वास्थ्य करको २५ प्रतिशत रकम मन्त्रालयले पाउने हो भने बीमाको आर्थिक संकट ठूलो हदसम्म समाधान हुने दाबी गरिन्। अब बीमालाई व्यवस्थित गर्न 'रिफर' भएर आउने बिरामीलाई मात्र सेवा दिने गरी नयाँ स्वरूपमा लैजानुपर्ने उनको भनाइ छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ