नेपाली कांग्रेसको केन्द्रीय समितिले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा औपचारिक रूपमा अगाडि सारेसँगै नेपाली राजनीतिमा एक प्रकारको नयाँ तरङ्ग पैदा भएको छ । पार्टी सभापतिमा निर्वाचित भएलगत्तै गगन थापाले सार्वजनिक रूपमा प्रस्तुत गर्दै आएका दृष्टिकोण, विचार र राजनीतिक शैलीले नेपाली कांग्रेसलाई मात्र होइन, समग्र लोकतान्त्रिक राजनीतिलाई नयाँ बहसको केन्द्रमा ल्याएको छ ।
विशेषतः पार्टी सभापति निर्वाचित भएपछि उनले प्रस्तुत गरेका सुशासन, सामाजिक न्याय, समावेशी लोकतन्त्र, युवामैत्री नीति र संघीय व्यवस्थाको सुदृढीकरणसम्बन्धी दृष्टिकोणले राजनीतिक विश्लेषकदेखि सामान्य मतदातासम्मलाई आकर्षित गरेको देखिन्छ। विभिन्न राजनीतिक विश्लेषकहरूले गगन थापाको नेतृत्वलाई मुक्तकण्ठले प्रशंसा गर्न थालेका छन्, किनकि उनीहरूका दृष्टिमा गगन थापा केवल भाषणमा सीमित नेता होइनन्, बरु नीति र व्यवहारबीचको दूरी घटाउन खोज्ने, आलोचनालाई सहज रूपमा स्वीकार गर्ने र संवादलाई लोकतन्त्रको मूल आत्मा मान्ने नेता हुन् ।
लामो समयदेखि व्यक्तिकेन्द्रित, गुटगत र सत्तामुखी राजनीतिबाट दिक्क बनेको नेपाली समाजका लागि गगन थापाको नेतृत्व एक प्रकारको वैकल्पिक सम्भावनाको रूपमा देखा परेको छ। उनले पार्टीभित्र मात्र होइन, बाहिर पनि राजनीतिक मर्यादा, बहसको स्तर र सार्वजनिक संवादको संस्कृतिलाई उकास्ने प्रयास गरिरहेको देखिन्छ, जसका कारण उनको छवि एक जिम्मेवार राष्ट्रिय नेताको रूपमा विस्तार हुँदै गएको छ ।
नेपाली कांग्रेसले उनलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सार्नुले पार्टीको रणनीतिमा आएको आत्मविश्वास मात्र होइन, जनमतको मनोविज्ञान बुझ्ने क्षमताको पनि संकेत गर्छ। किनकि आजको नेपाली समाज पुराना अनुहार र उही शैलीको राजनीतिबाट क्रमशः टाढिँदै नयाँ सोच, नयाँ नेतृत्व र स्पष्ट दिशाको खोजीमा छ, र यही खाली स्थानमा गगन थापाको उपस्थिति स्वाभाविक रूपमा अर्थपूर्ण बनेको छ ।
उनको नेतृत्वलाई समर्थन गर्नेहरू भन्छन्—गगन थापा त्यो पुस्ताको प्रतिनिधि हुन्, जसले आन्दोलनको इतिहास पनि बुझेको छ र शासनको जटिलता पनि; जसले आदर्शको भाषा पनि बोल्न सक्छ र व्यवहारिक समाधान पनि प्रस्ताव गर्न सक्छ। यही कारण उनीप्रति देखिएको समर्थन केवल कांग्रेस समर्थकमा सीमित छैन, बरु दलगत सीमाभन्दा बाहिरका सचेत नागरिक, युवा वर्ग, पेशाकर्मी र बौद्धिक समुदायमा समेत फैलिँदै गएको देखिन्छ। यस परिप्रेक्ष्यमा हेर्दा, गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सार्नु नेपाली कांग्रेसको लागि मात्र होइन, समग्र नेपाली राजनीतिका लागि एक निर्णायक मोडको संकेत हो
गगन थापाको उम्मेदवारी घोषणा आफैंमा रणनीतिक दृष्टिले निकै परिपक्व देखिन्छ। विशेषगरी मधेसको भावना सम्बोधन गर्ने गरी उनले प्रस्तुत गरेको राजनीतिक दृष्टिकोणले कांग्रेसलाई परम्परागत पहाड–केन्द्रित आरोपबाट बाहिर निकाल्ने प्रयास गरेको छ। मधेसमा लामो समयदेखि व्याप्त राजनीतिक उपेक्षा, पहिचानको सवाल, समावेशिता र विकासका मुद्दालाई उनले केवल भाषणमा सीमित नराखी राष्ट्रिय एजेन्डाका रूपमा स्थापित गर्न खोजेका छन्। यही कारण मधेसी समुदायभित्र कांग्रेसप्रतिको दूरी घट्दै गएको देखिन्छ, जुन आगामी निर्वाचनमा निर्णायक हुन सक्छ।
स्वास्थ्य मन्त्रीका रूपमा गगन थापाले गरेको काम उनको कार्यक्षमता र नीतिगत स्पष्टताको प्रमाणका रूपमा लिइन्छ। सार्वजनिक स्वास्थ्य प्रणालीको सुधार, स्वास्थ्य बीमा कार्यक्रमको विस्तार, अस्पताल व्यवस्थापनमा पारदर्शिता र औषधि प्रणाली सुधारका प्रयासहरू उनले अल्पकालीन राजनीतिक लाभभन्दा दीर्घकालीन संरचनात्मक सुधारलाई प्राथमिकता दिएको देखिन्छ। यद्यपि ती सबै प्रयास पूर्ण रूपमा सफल भए भन्न सकिँदैन, तर इच्छाशक्ति, इमानदारी र सुधारको स्पष्ट दिशा उनले स्थापित गरे। यही अनुभवका आधारमा कांग्रेसले उनलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्नु स्वाभाविक देखिन्छ।
अर्कोतर्फ नेकपा एमालेको रणनीति भने जनभावनासँग क्रमशः टाढिँदै गएको देखिन्छ। जेन–जि आन्दोलनले सत्ताच्युत गरेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनः प्रधानमन्त्रीका रूपमा अघि सारिरहनुले एमाले नेतृत्व जनमतको संकेत बुझ्न असफल भइरहेको आभास दिन्छ।
युवापुस्तामा बढ्दो असन्तुष्टि, अधिनायकवादी शैलीप्रतिको आलोचना र आन्तरिक लोकतन्त्रको अभावका कारण एमालेप्रति जनस्तरमा निराशा बढ्दै गएको छ। राजनीतिक परिवर्तनको माग उठिरहेका बेला पुरानै अनुहार र पुरानै शैली दोहोर्याउनु एमालेका लागि आत्मघाती रणनीति बन्न सक्ने खतरा प्रबल छ।
राष्ट्रिय स्वतन्त्र पार्टीको उदयले नेपाली राजनीतिमा नयाँ तरंग ल्याएको भए पनि उसको रणनीति अझै परीक्षणकै चरणमा देखिन्छ। काठमाडौँका निर्वतमान मेयर बालेन शाहलाई प्रधानमन्त्रीका रूपमा अघि सार्नु र केपी ओलीकै क्षेत्रमा उम्मेदवार प्रस्तुत गर्नु प्रतीकात्मक रूपमा शक्तिशाली देखिए पनि यसको दीर्घकालीन राजनीतिक प्रभाव कति टिकाउ हुन्छ भन्ने प्रश्न उठ्छ। उम्मेदवारी मनोनयनका दिन देखिएको उद्दण्डता, संस्थागत अनुभवको कमी र स्पष्ट वैचारिक दिशाको अभावले रास्वपाको छविमा प्रश्नचिन्ह खडा गरेको छ। परिवर्तनको आकांक्षा बोकेको दलले नै लोकतान्त्रिक मर्यादा कमजोर पार्ने गतिविधि देखाउँदा जनविश्वास टिकाइराख्न कठिन हुन्छ।
यी सबै राजनीतिक घटनाक्रमको समग्र विश्लेषण गर्दा जनसमर्थन नेपाली कांग्रेसतर्फ क्रमशः चुलिँदै गएको देखिन्छ। यसको प्रमुख कारण कांग्रेसभित्र देखिएको आत्मसमीक्षा, नेतृत्व परिवर्तनको साहस र भावी नेतृत्वप्रति स्पष्ट दृष्टिकोण हो। गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्नु कांग्रेसको सबैभन्दा रणनीतिक निर्णयमध्ये एक मान्न सकिन्छ। यसले पार्टीलाई केवल सत्ता साझेदारको हैसियतबाट बाहिर निकालेर स्पष्ट नेतृत्व विकल्पका रूपमा स्थापित गरेको छ।
गगन थापाको लोकप्रियता केवल भाषण र सामाजिक सञ्जालमै सीमित छैन। उनले युवापुस्ताको भाषा बुझ्छन्, तर केवल युवाको नाममा भावनात्मक राजनीति गर्दैनन्। लोकतन्त्र, सुशासन, सामाजिक न्याय र समावेशी विकास उनका राजनीतिक मूलमन्त्र देखिन्छन्। उनी आलोचना सहन सक्ने, संवाद गर्न सक्ने र गल्ती स्वीकार्न सक्ने नेता हुन् भन्ने छवि स्थापित हुँदै गएको छ। यही गुणले उनलाई पुराना शैलीका नेताभन्दा फरक देखाउदै गएको छ। आदि कारणले कांग्रेस पहिलो दल बन्न सक्छ भन्ने विश्लेषण हुन थालेका छ्न ।
एमाले नेतृत्वप्रतिको असन्तुष्टि, माओवादीको (नेपाली कम्युनिष्ट पार्टी ) कमजोर सांगठनिक अवस्था, रास्वपाको अपरिपक्वता र कांग्रेसभित्रको सुधारोन्मुख एकताले कांग्रेसलाई केन्द्रमा ल्याएको छ। विशेष गरी गगन थापाको नेतृत्वले कांग्रेसलाई “परिवर्तनविरोधी पुरानो पार्टी” भन्ने आरोपबाट बाहिर निकाल्दै “लोकतान्त्रिक सुधारको मुख्य शक्ति” का रूपमा पुनःस्थापित गरेको छ।
चुनौतीहरू भने कम छैनन् । गगन थापाको रणनीतिक सफलता उन्मुख यात्रालाई निरन्तरता दिन कांग्रेसले आन्तरिक गुटबन्दी नियन्त्रण गर्नुपर्छ, स्थानीय तहदेखि केन्द्रसम्म संगठन सुदृढ गर्नुपर्छ र घोषणापत्रलाई व्यवहारमा उतार्ने स्पष्ट रोडम्याप प्रस्तुत गर्नुपर्छ। भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत हुनु आफैंमा पर्याप्त हुँदैन; जनताले परिणाम खोजिरहेका छन् ।
अन्ततः नेपाली राजनीति अहिले निर्णायक मोडमा उभिएको छ। परिवर्तनको चाहना केवल नारा होइन, व्यवहारमा देखिनुपर्ने समय आएको छ। यस्तो परिवेशमा गगन थापाको उदय केवल एक व्यक्तिको राजनीतिक उन्नति होइन, यो लोकतान्त्रिक प्रणालीभित्र सुधार सम्भव छ भन्ने आशाको पुनर्जागरण पनि हो।
यदि कांग्रेसले यही दिशा कायम राख्न सक्यो भने, गगन थापा केवल भावी निर्विकल्प प्रधानमन्त्रीको उम्मेदवार मात्र होइन, नयाँ राजनीतिक संस्कृतिका संवाहकका रूपमा इतिहासमा स्थापित हुन सक्छन् । (लेखक पोख्रेल राजनितिक विश्लेषक तथा प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेस गुल्मी क्षेत्र -२ ले सिफारिस गरेका उम्मेदवारमध्ये एक हुन्)