क्यूआर भुक्तानी लिँदा स्क्रिनसटको भर नपर्नुस्, यसरी हुनसक्छ ठगी
खातामा पैसा आएको यकिन गरेर मात्र सामान दिन राष्ट्र बैंकको आग्रह
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १३ मंगलबार
848
Shares
काठमाडौँ । विद्युतीय भुक्तानीको लोकप्रियतासँगै 'क्यूआर कोड' मार्फत हुने नयाँ शैलीका ठगीका घटनाहरू बढेपछि नेपाल राष्ट्र बैंकले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। केन्द्रीय बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले एक सूचना जारी गर्दै वस्तु तथा सेवा प्रदायकहरूलाई भुक्तानी लिँदा विशेष सावधानी अपनाउन निर्देशन दिएको हो।
पछिल्लो समय कतिपय ग्राहकले भुक्तानी सफल भएको 'स्क्रिनसट' देखाएर विक्रेतालाई झुक्याउने गरेको पाइएको छ। राष्ट्र बैंकका अनुसार त्यस्ता स्क्रिनसटहरू पुराना भुक्तानीका रसिद वा फोटो सम्पादन गरेर बनाइएका नक्कली हुनसक्ने भएकाले त्यसकै भरमा मात्र सामान वा सेवा उपलब्ध गराउनु जोखिमपूर्ण हुन्छ। स्क्रिनसटमा देखाइएको विवरण वास्तविक भुक्तानीसँग मेल नखान सक्ने भएकाले विक्रेताहरू ठगीको शिकार भइरहेको महाशाखाले जनाएको छ।
यस जोखिमबाट बच्न राष्ट्र बैंकले भुक्तानी स्वीकार गर्दा अनिवार्य रूपमा आफ्नो मोबाइल बैंकिङ एप, एसएमएस वा बैंकबाट प्राप्त हुने आधिकारिक नोटिफिकेसनमार्फत खातामा रकम जम्मा भएको सुनिश्चित गर्न आग्रह गरेको छ। आफ्नो बैंक खातामा रकम आएको पुष्टि नगरी कारोबार गर्दा हुन सक्ने आर्थिक नोक्सानीको जिम्मेवार स्वयम् व्यवसायी हुनुपर्ने भन्दै बैंकले सुरक्षित डिजिटल कारोबारको संस्कृति अपनाउन सबैमा अपिल गरेको छ।