काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ जाँदैछन्। आसन्न निर्वाचनको मिति नजिकिँदै गर्दा मतदाता भेट्न र चुनावी माहोललाई थप बलियो बनाउन उनी आज मधेस झर्न लागेका हुन्।
सभापति थापा आज बिहान १०:३० बजेको उडानमार्फत काठमाडौँबाट सिमारा प्रस्थान गर्ने तालिका छ। सिमारा विमानस्थल ओर्लिएपछि उनी सडकमार्ग हुँदै सर्लाही पुग्नेछन्। सिमारामा उनलाई स्वागत गर्न स्थानीय नेता तथा कार्यकर्ताहरूको ठूलो टोली विमानस्थल पुग्ने तयारीमा रहेको छ।
नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापति चुनिएपछि र सर्लाही–४ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गराएपछि थापाको यो भ्रमणलाई राजनीतिक वृत्तमा निकै महत्त्वका साथ हेरिएको छ। काठमाडौँ–४ को सुरक्षित विरासत छाडेर मधेशको चुनावी मैदानमा उत्रिएका थापाले यस भ्रमणका क्रममा स्थानीय कार्यकर्ताहरूसँग भेटघाट गर्ने र चुनावी रणनीतिका विषयमा सघन छलफल गर्ने कार्यक्रम रहेको छ।
सभापति थापाको यो उपस्थितिले सर्लाहीको राजनीतिक सरगर्मीलाई थप तताउने र कांग्रेस कार्यकर्ताहरूमा नयाँ उत्साह थप्नेछ।