हामीले नेतालाई 'भगवान्' र ‘बा’ बनाएर गल्ती गर्यौँ, रास्वपाले त्यो गल्ती नदोहोर्याओस्ः गगन थापा
हाम्रा कुरा
प्रकाशित २०८३ असार ७ आइतबार
274
Shares
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक दलका नेताहरूलाई भगवान र ‘बा’ बनाएर अन्धभक्त भई पछ्याउने गलत राजनीतिक संस्कारका कारण पुराना दलहरूले नियति भोग्नुपरेको बताएका छन्। चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।
सभापति थापाले दलभित्रका शीर्ष नेताहरूमाथि समयमै प्रश्न गर्ने संस्कार विकास गर्न ढिलाइ भएकै कारण मुलुकको राजनीति जटिल मोडमा पुगेको बताए। कांग्रेसले विगतमा आफ्ना कमजोरीहरू पहिचान गर्न र नेतृत्वलाई औँला ठड्याउन ढिलाइ गरेको स्वीकार गर्दै उनले त्यसैको ठुलो राजनीतिक मूल्य पार्टीले अहिले पनि चुकाइरहेको स्पष्ट पारे। उनले पुराना राजनीतिक दलका यस्ता गम्भीर कमजोरीहरूबाट पाठ सिकेर अगाडि बढ्न महाधिवेशनमा उपस्थित रास्वपाका तमाम नेता तथा कार्यकर्ताहरूलाई विशेष आग्रह गरे।
उद्घाटन सत्रको मञ्चबाट नयाँ पुस्तालाई सचेत गराउँदै सभापति थापाले भने, "हामीले हाम्रा दलका नेताहरूलाई भगवान् बनाएर गल्ती गरिसक्यौँ, 'बा' बनाएर गल्ती गरिसक्यौँ, तपाईँहरूले त्यो नगर्नुहोला। गल्ती गरेको बेलामा आफ्नै नेतालाई पनि प्रश्न गर्नुहोला। हामीले प्रश्न गर्न ढिलो गर्यौँ, त्यसैले सजाय पनि पायौँ। हामीले हाम्रो पार्टी 'लास र दासहरूको पार्टी होइन' भन्ने कुरा केही अगाडि नै भन्न सक्नुपर्थ्यो, तर सकेनौँ, ढिलो गर्यौँ। त्यसबाट पनि सिक्नुहोला भनेर म प्रत्येक राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्यहरूलाई भन्न चाहन्छु।"
उनले पहिलो महाधिवेशनमार्फत पार्टीको नयाँ नीति र नेतृत्व चयनको सङ्घारमा रहेको रास्वपालाई रचनात्मक र विवेकपूर्ण निर्णय लिन आग्रह गर्दै भव्य सफलताको शुभकामना समेत व्यक्त गरे।