काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनमा सहभागी हुन चितवन पुगेका छन्। केही बेरअघि बुद्ध एयरको विमानमार्फत भरतपुर विमानस्थल ओर्लिएका सभापति थापालाई कांग्रेस तथा रास्वपाका स्थानीय नेता एवं कार्यकर्ताहरूले भव्य स्वागत गरेका छन्।
रास्वपाको महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई आमन्त्रण गरिएको छ। सोही निमन्त्रणा स्वीकार गर्दै शुभकामना दिन सभापति थापा चितवन पुगेका हुन्।
अबको केही बेरमै भरतपुरस्थित गेस्टहाउस चौरमा निर्मित अत्याधुनिक वाटरप्रुफ डोममा महाधिवेशनको भव्य उद्घाटन हुनेछ। उद्घाटन सत्रलाई प्रधानमन्त्री एवं रास्वपाका वरिष्ठ नेता वालेन्द्र साह (बालेन) र पार्टी सभापति रवि लामिछानेले संयुक्त रूपमा सुरु गर्ने कार्यतालिका रहेको छ।
उद्घाटन समारोहमा शुभकामना दिन पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, एमाले नेता प्रदीप ज्ञवाली, माओवादी नेता वर्षमान पुन, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सीके राउत लगायतका शीर्ष नेताहरू यसअघि नै महाधिवेशन स्थलमा पुगिसकेका छन्।