मोरङ । राष्ट्रिय सभा सदस्यमा कोशी प्रदेशबाट नेकपा एमालेकी रोशनी मेचे र सोमनाथ पोर्तेल निर्वाचित भएका छन् । आज भएको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनका तर्फबाट महिलातर्फ एमालेकी मेचेले नेपाली कम्युनिष्ट पार्टी नेकपाकी नमिता न्यौपानेलाई पराजित गरेकी हुन् । मेचेले सात हजार १७३ मतभार प्राप्त गरिन् भने न्यौपानेले दुई हजार २६८ मतभार ल्याइन् ।
यसैगरी दलिततर्फ नेकपा एमालेका पोर्तेल निर्वाचित भए । पोर्तेलले नेपाली कम्युनिष्ट पार्टी नेकपाका खेम सुन्दासलाई पराजित गरे । पोर्तेलले सात हजार ४२३ मतभार प्राप्त गरे भने सुन्दासले दुई हजार २७ मतभार ल्याए ।
कोशी प्रदेशमा राष्ट्रिय सभाका तीन सदस्य पदका लागि निर्वाचन भएको हो । खुला सदस्यमा यसअघि नै नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भए ।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशी प्रदेशमा १३७ स्थानीय तहमध्ये नेपाली कांग्रेसका ११३, एमालेका १०८, नेपाली कम्युनिष्ट पार्टीका ३६, जसपा नेपाल र राप्रपाका चार–चार तथा स्वतन्त्र दुई जना रहेका थिए ।
प्रदेश सभामा नेपाली कांग्रेसका २९, एमालेका ४०, नेकपाका १७, राप्रपाका पाँच र जसपाका एक सांसद मतदाता थिए । प्रतिनिधि सभामा उम्मेदवारी दिएका नेकपाका तीन, एमालेका दुई, श्रम संस्कृति पार्टीका एक र भ्रष्टाचार मुद्धाका कारण झापा गाउँपालिकाका अध्यक्ष निलम्बनमा परेका कारण मतदाता सूचीबाट उनको नाम हटाइएको थियो ।