आयोगले सार्वजनिक गर्यो ३४ सय उम्मेदवारको वैयक्तिक विवरण
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ११ आइतबार
992
Shares
काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारहरूको वैयक्तिक विवरण सार्वजनिक गरेको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को कानुनी प्रावधान बमोजिम आयोगले पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फका सबै उम्मेदवारले मनोनयनका क्रममा पेस गरेको व्यक्तिगत विवरण बाहिर ल्याएको हो।
निर्वाचन प्रक्रियालाई थप पारदर्शी, निष्पक्ष र विश्वसनीय बनाउने उद्देश्यले यस्तो विवरण सार्वजनिक गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए।
मतदाता, सञ्चारमाध्यम र सरोकारवाला निकायले उम्मेदवारको योग्यता, पृष्ठभूमि र अन्य आवश्यक जानकारी सहजै प्राप्त गर्न सकून् भनेर यो विवरण आयोगको आधिकारिक वेबसाइटमा राखिएको छ। यसले आम नागरिकलाई आफ्ना उम्मेदवारबारे सही सूचनाका आधारमा निर्णय लिन मद्दत पुग्ने आयोगको विश्वास छ।
गत माघ ६ गते देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा उत्साहजनक रूपमा मनोनयन दर्ता सम्पन्न भएको थियो। आयोगको तथ्याङ्क अनुसार प्रत्यक्षतर्फ कुल ३ हजार ४८६ जनाले उम्मेदवारी दिएका छन्।
जसमा ३ हजार ८९ जना पुरुष, ३९६ जना महिला र अन्य १ जना उम्मेदवार रहेका छन्। निर्वाचनको मिति नजिकिँदै जाँदा आयोगले चुनावी कार्यतालिका अनुसार आफ्ना गतिविधिहरूलाई तीव्र पारेको छ।