निष्कासनदेखि सर्लाहीसम्मको यात्रा: गगन थापाले किन रोजे राजनीतिमा अप्ठेरो बाटो ? [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १० शनिबार
1.2k
Shares
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो राजनीतिक यात्रामा सधैँ सजिलो विकल्प त्यागेर चुनौतीपूर्ण बाटो रोज्ने गरेको बताएका छन्। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पार्टीभित्रको आन्तरिक संघर्ष र आगामी निर्वाचनको सन्दर्भमा आफूले लिएका जोखिमपूर्ण निर्णयहरूबारे खुलाएका हुन्।
थापाले केही समयअघि पार्टीको आन्तरिक कलहका कारण आफू पाँच वर्षका लागि निष्कासनमा परेको स्मरण गर्दै विशेष महाधिवेशनमा कार्यकर्ताको बलियो साथले मात्रै आफू फेरि नेतृत्वमा स्थापित हुन सफल भएको उल्लेख गरे। उनले यदि त्यतिबेला साथीहरूको समर्थन नभएको भए आज आफू पार्टीबाट निष्कासित सदस्यका रूपमा जनतामाझ उभिनुपर्ने अवस्था आउने थियो भन्दै आफ्नो कर्ममा सधैँ विश्वास राखेको बताए।
आगामी निर्वाचनको चर्चा गर्दै थापाले काठमाडौँ क्षेत्र नम्बर ४ आफ्नो लागि निकै सुरक्षित र सहज क्षेत्र भए पनि यस पटक जानाजानी मधेस झर्ने निर्णय गरेको खुलासा गरे। अघिल्लो निर्वाचनमै काठमाडौँ बाहिर जाने इच्छा भए पनि त्यतिबेला आँट नपुगेको स्वीकार गर्दै उनले यसपटक सर्लाही क्षेत्र नम्बर ४ बाट चुनाव लड्ने साहस जुटाएको जानकारी दिए। विगत तीन पटकसम्म काठमाडौँका मतदाताले दिएको मायाप्रति कृतज्ञता प्रकट गर्दै उनले अब राष्ट्रिय नेता बन्नका लागि सिङ्गो राष्ट्रलाई बुझ्न जरुरी रहेको र त्यसका लागि मधेसको माटोमा भिज्नु अनिवार्य रहेको तर्क गरे।
पहाडी मूलको परिवारमा जन्मिएर सहरमा हुर्किएको हुनाले आफूले पहाड र सहर बुझे पनि मधेसलाई नजिकबाट चिन्ने अवसर नपाएको उनले बताए। कांग्रेसको जग मधेशमै बनेको स्मरण गराउँदै थापाले सर्लाहीको भाषा, संस्कृति र जनजीवनलाई आत्मसात् गरेर मात्र वास्तविक राष्ट्रिय नेतृत्व निर्माण हुने विश्वास व्यक्त गरे।
सर्लाही-४ को प्रतिनिधित्व गर्न उम्मेदवार बनेका थापाले अब मधेस र सर्लाहीका मुद्दा सङ्घीय संसद् र सिंहदरबारमा नयाँ एवं सशक्त ढङ्गले उठ्ने प्रतिबद्धता जनाए। उनले सर्लाहीका मतदातालाई आफूलाई मत दिएकोमा पछुतो हुने अवस्था आउन नदिने दाबी गर्दै आगामी पाँच वर्षमा मधेशका विषयमा हुने निर्णय प्रक्रिया विगतको तुलनामा भिन्न हुने बताए।
पार्टीको केन्द्रीय जिम्मेवारीका कारण आफू सधैँ क्षेत्रमा बस्न नसक्ने स्वीकार गर्दै उनले मतदातासँग पूर्ण विश्वासको अपेक्षा गरे। उनले कार्यकर्ताहरूलाई चुनावी अभियानमा कसिने गरी लाग्न निर्देशन दिँदै आफ्नो उम्मेदवार बलियो छ भनेर विपक्षीलाई कमजोर नआँक्न सचेत गराए। आफूले गर्न सक्ने कामको मात्र वाचा गर्ने र चुनावपछि पनि मतदाताले आफूलाई सजिलै भेट्न सक्ने आश्वासन दिँदै उनले सबैको मेहनतबाट मात्रै जित सम्भव हुने उल्लेख गरे।