काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघको २६औँ साधारण सभा तथा निर्वाचन अनिश्चित भएको छ । निर्वाचन आयोगले शुक्रबार एक सूचना जारी गर्दै महासंघलाई तत्कालका लागि साधारण सभा तथा निर्वाचन स्थगित गर्न अनुरोध गरेपछि सभा अनिश्चित बनेको हो ।
महासंघका वरिष्ठ उपाध्यक्ष आङदोर्जी लामाले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनका कारण यतिबेला देशभर निर्वाचन आचारसहिंता लागू भएकाले आयोगले हालका लागि साधारण सभा स्थगित गर्न भनेको बताए ।
अब आयोगले अर्को सूचना जारी नगरेसम्मका लागि साधारण सभा स्थगित भएको उनले जानकारी दिए ।
आयोगले जारी गरेको सुचनामा माघ ४ गते राति १२ बजेदेखि अर्को सूचना प्रकाशन नभएसम्मका लागि निर्वाचन आचारसंहिता लागू भइसकेकाले सोहि बमोजिम साधारण सभा स्थगित गर्न अनुरोध गरेको उल्लेख छ ।
सुचनामा भनिएको छ,‘महासंघको २६औँ साधारणसभा एवं निवार्चन सम्बन्धमा बिषयक पत्र प्राप्त भयो । यसमा आयोगको मिति २०८२/१०/०४ को निर्णयानुसार सोही दिन राति १२ बजेदेखि आयोगबाट अर्को सूचना प्रकाशन नभएसम्मका लागि निर्वाचन आचार सहिंता, २०८२ लागू भइसकेको हुँदा ऐ आचार सहिंता लागू रहने अवधिभर साधारणसभा गर्न नमिल्ने हुँदा सोही बमोजिम साधारणसभा स्थगित गर्नु हुन निर्णयानुसार अनुरोध छ ।’
महासंघले गत पुस ८ गते नै सूचना निकालेर माघ १५ देखि १७ गतेसम्मका लागि काठमाडौँमा आफ्नो २६औँ साधारण सभा तथा निर्वाचन गर्ने कार्यतालिका सावर्जनिक गरेको थियो ।