arrow

मूल्यवृद्धिको चपेटामा निर्माण क्षेत्र

हर्मुज जलमार्गको तनावले नेपालको निर्माण क्षेत्र संकटमा, व्यवसायीले बुझाए ज्ञापनपत्र

काम रोकेका निर्माण व्यवसायीले मन्त्रालयका सचिवलाई बुझाए ज्ञापनपत्र

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १ शुक्रबार
nirman-bewasai-nicolas.jpg

काठमाडौँ । अत्याधिक मूल्यवृद्धिका कारण देशभरका विकास आयोजनाहरू ठप्प हुने अवस्थामा पुगेको भन्दै नेपाल निर्माण व्यवसायी महासंघले सरकारको ध्यानाकर्षण गराएको छ। महासंघका अध्यक्ष निकोलस पाण्डे नेतृत्वको टोलीले शुक्रबार एकीकृत पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल सिग्देल र ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडीलाई भेटेर ज्ञापनपत्र बुझाएको हो। 

अन्तर्राष्ट्रिय स्तरमा हर्मुज जलमार्गको तनावका कारण पेट्रोलियम पदार्थको मूल्यमा भएको अप्रत्याशित वृद्धिले निर्माण सामग्रीहरूको भाउ आकाशिएको र अहिलेको अवस्थामा काम गर्दा दोब्बरभन्दा बढी घाटा बेहोर्नुपर्ने स्थिति आएको व्यवसायीहरूको गुनासो छ। अध्यक्ष पाण्डेले निर्माण क्षेत्र स्वतः ‘कन्स्ट्रक्सन होलिडे’ को अवस्थामा पुगिसकेको जानकारी दिँदै बढेको बजार भाउअनुसार ठेक्काको मूल्य समायोजन गर्न र रोकिएका आयोजनाहरूको म्याद २०८४ असारसम्म थप गर्न माग गरेका छन्।

व्यवसायीहरूले चरम आर्थिक संकट भोगिरहेको बेला आयोजना प्रमुख तथा इन्जिनियरहरूबाट बैंक जमानत जफत गर्ने र कालोसूचीमा राख्ने जस्ता धम्कीपूर्ण व्यवहार भइरहेकोमा महासंघले कडा आपत्ति जनाएको छ। यस्तो डर र त्रासको वातावरणका कारण व्यवसायीहरू पलायन हुने स्थिति आएको र अनुसन्धानको नाममा भइरहेको धरपकडले लगानीको वातावरण झनै बिग्रिएको अध्यक्ष पाण्डेले बताए। 

इन्धनको मूल्यवृद्धिको प्रत्यक्ष असर सिमेन्ट, डण्डी, बालुवा र बिटुमिनजस्ता सामग्रीको उपलब्धता र मूल्यमा परेकाले सरकारले तत्काल मूल्य समायोजन निर्देशिका ल्याउनुपर्ने उनीहरूको अडान छ। आगामी बजेटमा आयोजनाहरूको स्पष्ट बजेट शीर्षक र भुक्तानीको सुनिश्चितता नभएसम्म तथा व्यवसायीका मागहरू सम्बोधन नभएसम्म निर्माण कार्य अघि बढाउन नसकिने व्यवसायीहरूले स्पष्ट पारेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ