कांग्रेसमा 'टिकट' प्रथाको अन्त्य: अब उम्मेदवार जनताले छान्ने सभापति थापाको घोषणा [भिडियो]
'अर्को पटकदेखि कांग्रेसको उम्मेदवार बालुवाटार वा सानेपाले तय गर्दैन, त्यहीँका पार्टी सदस्य र आम नागरिकले मतदान गरेर छान्नेछन्'
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ९ शुक्रबार
1.2k
Shares
काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले अबका निर्वाचनहरूमा पार्टीको केन्द्रीय संसदीय बोर्डले उम्मेदवार चयन गर्ने परम्पराको अन्त्य गरिने घोषणा गरेका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी निर्वाचनहरूमा सम्बन्धित निर्वाचन क्षेत्रकै पार्टी कार्यकर्ता र आम मतदाताले 'प्राइमरी इलेक्सन' (प्रारम्भिक निर्वाचन) मार्फत उम्मेदवार छान्ने नयाँ पद्धतिको दाबी गरे।
सभापति थापाका अनुसार कांग्रेसले १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार चयनको प्रक्रिया तल्लो तहबाटै टुङ्गिने गरी विधानमा संशोधन समेत गरिसकेको छ। "अर्को पटकदेखि कांग्रेसको उम्मेदवार बालुवाटार वा सानेपाले तय गर्दैन, त्यहीँका पार्टी सदस्य र आम नागरिकले मतदान गरेर छान्नेछन्," उनले भने।
यसपटक फागुन २१ को निर्वाचनका लागि भने समयको चरम अभावका कारण 'प्राइमरी इलेक्सन' गर्न नसकिएको उनले स्पष्ट पारे। पुस ४ गते विशेष महाधिवेशनबाट नयाँ नेतृत्व आएको र ६ गते नै उम्मेदवारी दर्ताको समय रहेकाले प्रक्रियागत रूपमा केही जटिलता आएको थापाको भनाइ छ। समयको चापले गर्दा यसपटकको उम्मेदवारी चयनलाई आफूहरूले चाहेजस्तो पूर्ण समावेशी र सन्तुलित बनाउन नसकेको उनले स्वीकार गरे।
आफूहरूले गरेको विशेष महाधिवेशन पद प्राप्तिका लागि नभई "कांग्रेस बदलिनैपर्छ" भन्ने आम नागरिकको पुकार र आवाजलाई सम्मान गर्नका लागि भएको उनले बताए। नयाँ नेतृत्वले पार्टीलाई जगैदेखि लोकतान्त्रिक बनाउने सङ्कल्प गरेको सन्देश दिँदै उनले अबको कांग्रेसमा टिकटका लागि केन्द्र धाउने प्रथा अन्त्य हुने विश्वास दिलाए।