arrow

केन्द्रीय कार्यसमिति बैठकको निर्णय

कांग्रेसको ऐतिहासिक निर्णय: गगन थापालाई 'भावी प्रधानमन्त्री' का रूपमा चुनावी मैदानमा उतारिने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ९ शुक्रबार
gagan-thapa-82-9-27ppeerr.jpg

काठमाडौँ । नेपाली कांग्रेसले आफ्ना नवनिर्वाचित सभापति गगन थापालाई आगामी प्रतिनिधिसभा निर्वाचनका लागि 'भावी प्रधानमन्त्री' को उम्मेदवार बनाउने औपचारिक निर्णय गरेको छ। शुक्रबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले थापालाई प्रधानमन्त्रीको रूपमा अघि सार्ने सर्वसम्मत निर्णय गरेको हो।

पार्टीका उपसभापति विश्वप्रकाश शर्माले बैठकका निर्णयबारे जानकारी दिँदै कांग्रेसले स्पष्ट, विनम्र र 'बोल्ड' ढङ्गले सभापति थापालाई देशको भावी नेतृत्वका रूपमा प्रस्तुत गरेको बताए। 

उनले अहिलेको राजनीतिक परिदृश्यमा देखिएका अन्य सम्भावित प्रधानमन्त्रीका दाबेदारहरूको तुलनामा कांग्रेसले अघि सारेको उम्मेदवार अब्बल नम्बरका साथ अग्रपङ्क्तिमा उभिने दाबी समेत गरे।

उपसभापति शर्माका अनुसार गगन थापाले परिवर्तित समयको आवाज र युवा पुस्ताको भावनालाई गतिलो ढङ्गले नेतृत्व गर्न सक्ने सामर्थ्य राख्छन्। मुलुकको विशिष्ट परिस्थितिको मागलाई सम्बोधन गर्न संयम र सौम्य प्रवृत्तिका साथ अघि बढ्न सक्ने नेतृत्व नै अहिलेको आवश्यकता भएको र त्यो क्षमता थापासँग रहेको कांग्रेसको ठहर छ। यस निर्णयसँगै कांग्रेस अब 'गगन थापाको नेतृत्वमा नयाँ नेपाल' भन्ने मुख्य चुनावी एजेन्डासहित फागुन २१ को निर्वाचनमा होमिने भएको छ।

कांग्रेसले यसअघि २०५६ सालको निर्वाचनमा कृष्णप्रसाद भट्टराईलाई पनि भावी प्रधानमन्त्रीका रुपमा अगाडि बढाएर बहुमत ल्याएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ