arrow

च्याटजीपीटी र जेमिनीले सुकाए र्‍यामको बजार: १६ जीबी र्‍यामको मूल्य डेढ सय डलर नाघ्यो

२०२६ भरि नै महँगो हुनेछ र्‍याम: एआई र डाटा सेन्टरको मागले आपूर्ति प्रणाली ध्वस्त

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ८ बिहिबार
ram-market.jpg

काठमाडौँ । विश्व बजारमा पछिल्लो समय प्रविधि क्षेत्रले एउटा नयाँ र गम्भीर सङ्कटको सामना गरिरहेको छ, जहाँ र्‍यामको मूल्यमा तीव्र वृद्धि र अभाव देखिएको छ। चीनसहित विश्वभर देखिएको यो समस्याको मुख्य कारण आर्टिफिसियल इन्टेलिजेन्समा आधारित च्याटजीपीटी र जेमिनी जस्ता लार्ज ल्याङ्ग्वेज मोडेलहरूको विस्तारलाई मानिएको छ। 

यी एआई एपहरू सञ्चालन गर्न उच्च क्षमताको र्‍याम आवश्यक पर्ने र सोहीअनुसार माग ह्वात्तै बढेकाले बजारमा असन्तुलन पैदा भएको हो। विशेषगरी एआई र डाटा सेन्टरहरूको माग धान्न विश्वका प्रमुख तीन उत्पादक कम्पनीहरू सामसङ, एसके हाइनिक्स र माइक्रोन केन्द्रित भएपछि साधारण उपभोक्ताले प्रयोग गर्ने र्‍यामको आपूर्ति निकै सीमित बनेको छ। नाफा कम हुने भएकाले केही कम्पनीले त उपभोक्ता-ग्रेडका र्‍याम उत्पादनसमेत बन्द गरेका छन्।

आपूर्तिमा आएको यो गिरावटले बजारमा उपलब्ध र्‍यामको मूल्यलाई छोइनसक्नु बनाएको छ। शाङ्घाईको इलेक्ट्रोनिक्स बजारमा गत वर्ष करिब ४३ अमेरिकी डलरमा पाइने १६ जीबीको र्‍याम अहिले १५० डलरभन्दा बढी पुगेको छ भने केही उच्च क्षमताका र्‍यामको मूल्य त २८० डलरबाट बढेर ८५० डलरभन्दा माथि पुगेको पाइएको छ। 

चीनकै गुइझोउ प्रान्तमा पनि डिडिआर ४ र डिडिआर ५ र्‍यामको मूल्य गत वर्षको तुलनामा १०० प्रतिशतले बढेको छ। हाल १६ जीबी डिडिआर ४ को मूल्य ८५ डलर र डिडिआर ५ को मूल्य १४० डलर नाघेको छ, जसले गर्दा सर्वसाधारण उपभोक्ता र साना व्यवसायीहरू मारमा परेका छन्।

प्रविधि विज्ञहरूका अनुसार एआई, क्लाउड कम्प्युटिङ र डाटा सेन्टरहरूको माग तत्काल घट्ने सङ्केत छैन। प्रमुख उत्पादक कम्पनीहरूमाथि एआई केन्द्रित चिप र मेमोरी उत्पादन गर्नुपर्ने दबाब अझै केही समय रहने भएकाले सन् २०२६ भरि नै उपभोक्ता स्तरको र्‍यामको मूल्य उच्च रहने प्रक्षेपण गरिएको छ। यसले गर्दा आगामी दिनमा नयाँ कम्प्युटर खरिद गर्ने वा पुरानो प्रणालीलाई अपग्रेड गर्ने योजनामा रहेका प्रयोगकर्ताहरूले अझै महँगो मूल्य तिर्नुपर्ने देखिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ