नेपालको पहिलो टियर आईभी हाइपरस्केल डाटा सेन्टरको घोषणा [तस्बिरहरू]
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २४ बिहिबार
493
Shares
काठमाडौँ । नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पुर्याउने र देशको डाटा सुरक्षालाई मजबुत बनाउने उद्देश्यका साथ 'बिचुटिन डाटा भोल्ट'(बीडीभी) ले नेपालको पहिलो टियर आईभी हाइपरस्केल डाटा सेन्टर निर्माण गर्ने घोषणा गरेको छ ।
यो पहलले नेपाललाई दक्षिण एसियाकै एक विश्वसनीय डिजिटल हबको रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ । नेपाली उद्यमीहरू नवीन अग्रवाल, मीन अग्रवाल (फियर ग्रुप), अनुज अग्रवाल (कियाल ग्रुप), विशालकुमार जाडिया र शरद गोयलको नेतृत्वमा रहेको यस स्वदेशी कम्पनीले नेपालको आफ्नै डिजिटल सार्वभौमिकता र सुरक्षित भविष्य निर्माणको संकल्प लिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
बिचुटिन डाटा भोल्ट (बीडीभी) प्रालि एक नेपालमा आधारित निजी कम्पनी हो । जसले सुरक्षित, मापनयोग्य र विश्वस्तरीय डिजिटल पूर्वाधार निर्माण गरिरहेको छ ।
'बिचुटिन' नाम भगवान् विष्णुको जापानी बौद्ध नामबाट लिइएको हो, जसले "रक्षक" को प्रतिनिधित्व गर्दछ ।
कम्पनीको मुख्य उद्देश्य नेपालको डिजिटल भविष्यलाई सुरक्षित र आत्मनिर्भर बनाउनु रहेको कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । यसको वेबसाइट: www.bichuten.com रहेको छ ।
विज्ञप्तिअनुसार यस्ता छन् परियोजनाका मुख्य विशेषताहरू:
अन्तर्राष्ट्रिय गुणस्तर: यो नेपालकै पहिलो टियर आईभी प्रमाणित डाटा सेन्टर हुनेछ, जसले ९९.९९५ प्रतिशत 'अपटाइम' को सुनिश्चितता प्रदान गर्दछ । यसको अर्थ वर्षभरिमा २६ मिनेट भन्दा कममात्र प्राविधिक अवरोध हुन सक्छ, जसले बैंकिङ र दूरसंचार जस्ता संवेदनशील क्षेत्रका लागि उच्चतम विश्वसनीयता प्रदान गर्दछ ।
विस्तार र क्षमता: यो परियोजना काठमाडौँ (साइट १) र वीरगञ्ज (साइट २) गरी दुई रणनीतिक स्थानहरूमा रहनेछ । २४० किलोवाट क्षमताबाट शुरू भई सन् २०३० सम्ममा यसलाई ५ मेगावाटसम्म विस्तार गर्ने योजना रहेको छ ।
विश्वव्यापी साझेदारी: प्रविधि र विशेषज्ञताका लागि कम्पनीले भीभीडीएन, गुगल क्लाउड, एएमडी र माइक्रोन जस्ता विश्वविख्यात प्रविधि कम्पनीहरूसँग रणनीतिक साझेदारी गरेको छ ।
स्वदेशी प्रविधि र रोजगारी: यो पूर्वाधारले नेपालमा सूचना प्रविधि (आईटी) र इन्जिनियरिङ क्षेत्रमा ठूलो मात्रामा रोजगारी सिर्जना गर्नेछ । साथै भविष्यमा नेपालमै सर्भर, क्यामेरा, ल्यापटप र ट्याब्लेट जस्ता उपकरणहरू उत्पादन गर्ने कम्पनीको दूरगामी लक्ष्य रहेको छ ।
डिजिटल सार्वभौमिकता र सुरक्षा: "डाटा नै कृत्रिम बौद्धिकता (एआई) र डिजिटल रूपान्तरणको आधार हो" भन्ने मान्यताका साथ बिचुटिन डाटा भोल्टले नेपालको डाटा नेपालभित्रै सुरक्षित राख्ने सुनिश्चित गर्नेछ । यसले विदेशी सर्भरमाथिको निर्भरता कम गरी राष्ट्रिय सुरक्षा र साइबर प्रतिरोधक क्षमतालाई बलियो बनाउनेछ ।
वातावरण मैत्री पूर्वाधार: यो डाटा सेन्टर ऊर्जा-दक्ष र पूर्णतया नेपालकै जलविद्युतमा आधारित हुनेछ, जसले दिगो र वातावरण मैत्री प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्नेछ ।