arrow

नेपालमा पनि हुने भयो विश्वकै प्रतिष्ठित स्टार्टअप प्रतियोगिता

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २५ बिहिबार
startup-worldcup-2026.jpg

काठमाडौँ। नेपालमा डिजिटल रूपान्तरण र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘स्टार्टअप वल्डकप कप नेपाल च्याप्टर २०२६’ आयोजना हुने भएको छ।

यसका लागि द ब्रिटिश कलेज र कम्प्यूटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) बीच रणनीतिक साझेदारी भएको छ।

सम्झौताअनुसार क्यान महासंघ प्रतियोगिताको ‘स्ट्राटेजिक अर्गनाइजिङ पार्टनर’ रहनेछ। सम्झौतापत्रमा द कंडेल ग्रुप तथा द ब्रिटिश कलेजका ग्रुप सीईओ राजन कंडेल र क्यान महासंघका कार्यवाहक अध्यक्ष तथा वन कभर प्रालिका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी अधिकारीले हस्ताक्षर गरेका छन्।

आयोजकका अनुसार यो सहकार्य प्रतियोगिता आयोजना गर्नेमा मात्र सीमित नभई देशभर रहेका नवप्रवर्तनकारी सोच भएका युवा उद्यमीलाई पहिचान, मार्गदर्शन, लगानी र अन्तर्राष्ट्रिय अवसरसँग जोड्ने अभियान हुनेछ।

सातै प्रदेशमा स्थानीय स्तरका स्टार्टअप छनोट कार्यक्रम सञ्चालन गरिनेछ भने सहभागीलाई उद्योगका अनुभवी व्यवसायी, प्राविधिक विज्ञ र सम्भावित लगानीकर्तासँग जोडिने अवसर प्रदान गरिनेछ।

राजन कँडेलले नेपालको आर्थिक समृद्धिका लागि नवप्रवर्तन र उद्यमशीलता महत्वपूर्ण आधार भएको उल्लेख गर्दै यस साझेदारीले नेपाली स्टार्टअपलाई मेन्टरसिप, लगानी तथा विश्वव्यापी अवसर प्राप्त गर्ने राष्ट्रिय मञ्च उपलब्ध गराउने बताए।

त्यस्तै चिरञ्जीवी अधिकारीले सहकार्यले नेपाली प्रविधि उद्यमीलाई अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो क्षमता प्रदर्शन गर्ने ऐतिहासिक अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे।

विश्वव्यापी लगानी संस्था पेगस टेक भेञ्चरले आयोजना गरेको ‘स्टार्टअप वल्र्ड कप’ ६० भन्दा बढी देशमा सञ्चालन हुँदै आएको विश्वकै प्रतिष्ठित स्टार्टअप प्रतिस्पर्धामध्ये एक हो।

नेपाल च्याप्टरको विजेताले अमेरिकाको सिलिकन भ्यालीमा हुने ग्रान्ड फिनालेमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन्।

साथै, विश्वभरका उत्कृष्ट स्टार्टअपसँग प्रतिस्पर्धा गर्दै १० लाख अमेरिकी डलर (करिब १३ करोड रुपैयाँभन्दा बढी) लगानी पुरस्कार जित्ने अवसरसमेत प्राप्त हुनेछ।

आयोजकका अनुसार प्रतियोगिताले नेपालमा स्टार्टअप संस्कृति विस्तार, डिजिटल अर्थतन्त्र सुदृढीकरण, रोजगारी सिर्जना तथा ‘ब्रान्ड नेपाल’को प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ