नेपालको पहिलो ओटीटी एप नेटटिभीले पायो आधिकारिक लाइसेन्स
हाम्रा कुरा
प्रकाशित २०८३ असार १७ बुधबार
169
Shares
काठमाडौँ । नेपालको डिजिटल मनोरञ्जन क्षेत्रमा क्रान्ति ल्याउने उद्देश्य बोकेको नेट टिभी प्रालिले नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सूचना तथा प्रसारण विभागबाट आधिकारिक रूपमा ओटीटी (ओभर त टप) प्रसारण सेवा सञ्चालनको इजाजतपत्र प्राप्त गरेको छ ।
नेटटिभीका सीईओ निरन राजभण्डारीले यो ऐतिहासिक र गौरवपूर्ण उपलब्धि सार्वजनिक गर्न पाउँदा अत्यन्तै गौरव महसुस भएको बताएका छन् । कम्पनीले सन् २०१७ मै ओटीटी एप सार्वजनिक गरेको थियो । नेटटिभी नेपालकै पहिलो आईपीटिभी सेवा प्रदायकसमेत हो ।
नेपालमा भिडियो स्ट्रिमिङ र डिजिटल कन्टेन्टको जग बसालेको हाम्रो यस प्लेटफर्मले अब नेपाल सरकारबाट ओटीटी प्रसारण सेवाको आधिकारिक लाइसेन्स प्राप्त गरेसँगै यस क्षेत्रमा नयाँ उचाइ हासिल गरेको सीईओ राजभण्डारीको जिकिर छ ।
उनले भनेका छन्, 'यस इजाजतपत्रले हामीलाई नेटटिभी एप र हाम्रो वेबसाइट (nettv.com.np) मार्फत नेपालभर २४ सै घण्टा सेवा प्रदान गर्ने अधिकार सुनिश्चित गरेको छ । अब हामीले आधिकारिक रूपमा नेपाली, अङ्ग्रेजी, हिन्दी लगायतका भाषाहरूमा इजाजतप्राप्त टेलिभिजन च्यानलहरू, अनुमति प्राप्त विदेशी कार्यक्रमहरू तथा उत्कृष्ट डिजिटल कार्यक्रमहरू प्रसारण गर्नेछौँ ।'
'एउटै सब्सक्रिप्सन, असीमित मनोरञ्जन (वान सब्सक्रिप्सन अनलिमिटेड इन्टरटेनमेन्ट) को मूल मन्त्रसहित नेटटिभीले आफ्ना प्रयोगकर्ताहरूका लागि पहिलेभन्दा अझ धेरै र उत्कृष्ट कन्टेन्टहरू पस्किएको छ ।
जसमा १००० भन्दा बढी चलचित्रहरू, ब्लकबस्टर चलचित्रहरू, रोचक सिरिजहरू, लोकप्रिय स्वदेशी तथा विदेशी ड्रामाहरू, लाइभ स्पोर्ट्स, लाइभ टिभी र असीमित च्यानलहरू जुनसुकै समय अनि जहाँसुकैबाट आफ्नो मोबाइल, ट्याब्लेट वा टिभी स्क्रिनमा आफ्नो समय अनुकूल जहाँबाट पनि हेर्न सकिने सुविधा उपलब्ध रहेकोसमेत कम्पनीले जनाएको छ ।