arrow

एनसेलको सेवा स्तरोन्नति गर्न सोमबारदेखि इलाम, पाँचथर, पर्सा र दाङका ३५ स्थानीय तहमा  थ्रीजी सेवा बन्द हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २८ आइतबार
ncell-3g-quit-volte-join.jpg

काठमाडौँ । एनसेलले नयाँ प्रविधि अपनाउने र सेवामा स्तरोन्नति गर्ने आफ्नो योजनालाई निरन्तरता दिँदै विभिन्न चार जिल्लाका ३५ स्थानीय तहमा असार २९ गते सोमबारदेखि थ्रीजी सेवा बन्द गर्ने भएको छ । ‘भ्वाइस ओभर लङ्ग टर्म एभोल्युसन’ (भोल्टे) प्रविधिसँगै फोरजी नेटवर्कलाई झन् बलियो बनाउने र भ्वाइसका साथै डेटा सेवाको अनुभव अझै परिस्कृत गर्न थ्रीजी बन्द गर्दै लगिएको कम्पनीले जनाएको छ ।

थ्रीजी बन्दसँगै देशको झण्डै ९५ प्रतिशत जनसंख्यामाझ पहिला नै पुगिसकेको फोरजीमा आधारित भोल्टेमार्फत गुणस्तरीय भ्वाइसका साथै मोबाइल ब्रोडव्याण्ड सेवा प्रदान गर्ने एनसेलको योजना रहेको छ । भोल्टेको फाइदा लिन फोरजी चल्ने मोबाइल र सीम प्रयोग गर्ने ग्राहकले आफ्नो मोबाइलमा भोल्टे सेटिङमा भोल्टे अन गर्नु पर्दछ । 

सोमबारबाट पर्सा, इलाम, पाँचथर र दाङका विभिन्न स्थानीय तहमा थ्रीजी बन्द गर्न लागिएको हो । यसो गर्दा अब थ्रीजी चलाउने ग्राहकले अझ गुणस्तरीय सेवा लिन फोरजी चलाउन पर्ने हुन्छ । कतिपय ग्राहकले फोरजी चल्ने सिमकार्ड लिएपछि र फोरजी नै चल्ने सेटमा सिमकार्ड प्रयोग गरिरहेका भए पनि थ्रीजी नै चलाइरहेका पनि हुन्छन् । 

थ्रीजी नेटवर्क बन्द हुनु नयाँ प्रविधिमा अपग्रेड हुने एक प्रक्रिया हो । प्रविधिमा अपग्रेड भएपछि उन्नत प्रविधिको प्रयोगसँगै ग्राहकहरूले उही शुल्कमा भ्वाइस अनि डेटामा झन् गुणस्तरीय कनेक्टिभिटीको अनुभूति गर्न सक्ने कम्पनीले जनाएको छ । 

एनसेलले आफूले घोषणा गरिए अनुसारै देशभर चरणबद्ध रूपमा थ्रीजी सेवा बन्द गर्ने योजना कार्यान्वयन गर्ने बताउँदै आएको छ । यसै योजना अन्तर्गत तीन प्रदेशका चार जिल्लाका २१५ भन्दा बढी टावरहरूमा कम्पनीले असार २९ गतेबाट थ्रीजी सेवा बन्द गर्दैछ । यी जिल्लाका सम्बन्धित स्थानहरूमा बसोबास गर्ने र फोरजीमा अपग्रेड हुन बाँकी ग्राहकहरूलाई भोल्टे सेवा लिनका लागि आग्रह गरेको छ । 

यसअघि पनि माघमा र गत हप्ता मात्र कम्पनीले विभिन्न जिल्लाका स्थानियतहहरूमा थ्रीजी बन्द गरेको थियो ।  थ्रीजी सेवा बन्द हुने स्थानको सुचीमा लुम्बिनी प्रदेशको दाङ जिल्लाका घोराही, बबई, शान्तिनगर, तुल्सीपुर लमही, इलामका देउमाई, फाकफोकथुम, इलाम, माई, माइजोगमाई, रोङ्, सूर्योदयलगायतका स्थानीय तह रहेका छन् । 

त्यसैगरी, पाँचथरका फालेलुङ्, फाल्गुनन्द, कुम्मायक, मिक्लाजुङ्, फिदिम र पर्साका बहुदरमाई, वीरगञ्ज, छिपहरमाई, धोबीनी, जगरनाथपुर, जिराभवानी, कालिकामाई, पर्सागढी, पोखरिया, सखुवा प्रसौनी र ठोरीलगायत विभिन्न स्थानिय तहमा थ्रीजी बन्द हुँदैछ ।  

भोल्टे प्रविधिमा उच्च गुणस्तरको भ्वाइस कल सेवा हुन्छ भने र फोन सम्पर्क पनि तुलनात्मक रुपमा छिटो समयमा नै स्थापित हुन्छ । ग्राहकहरूले गुणस्तरीय भ्वाइस कल अनि फोरजी डेटा उही शुल्कमा प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ । *१२३*११# डायल गरी भोल्टे सेवा सक्रिय गर्न सकिन्छ । भोल्टे सक्रिय भएपछि ग्राहकहरूले आफ्नो मोबाइल फोनको भोल्टे सेटिङ्मा भोल्टे अन गर्नुपर्ने हुन्छ ।

भोल्टे प्रविधिको फाइदा लिन फोरजी चल्ने मोबाइल फोन, फोरजी सीमकार्ड वा इ–सिम अनि फोरजी नेटवर्क उपलब्ध स्थानको आवश्यकता पर्दछ ।

कुन–कुन मोबाइल फोन ब्रान्ड अनि मोडलमा यो सेवाको उपभोग गर्न सकिन्छ अनि कसरी भोल्टे सेवा सक्रिय गर्न सकिन्छ लगायतका जानकारी एनसेलको वेबसाइट अनि एनसेल एप मार्फत प्राप्त गर्न सकिने एनसेलले बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ