arrow

गगन–विश्व नेतृत्व र कांग्रेसको युगान्तकारी मोड

विशेष महाधिवेशनः विधिभित्रको विद्रोह, गगन–विश्वः पुस्तान्तरणमात्र होइन, राजनीतिक रूपान्तरण

logo
पासाङ शेर्पा, 
प्रकाशित २०८२ माघ ४ आइतबार
pasang-shepra-article-04-10.jpg

नेपाली कांग्रेस आज इतिहासको त्यस्तो मोडमा उभिएको छ, जहाँ सुधारको प्रश्न अब नारा होइन, अनिवार्य यथार्थ बनिसकेको छ । गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा सम्पन्न ऐतिहासिक दोस्रो विशेष महाधिवेशन २०८२ ले केवल सांगठनिक अभ्यासमात्र होइन, कांग्रेसको सत्ता–संस्कृति, नेतृत्व–संरचना र राजनीतिक दर्शनमा हुने युगान्तकारी फड्को मार्ने सङ्केत दिएको छ । 

जसरी विसं २०१४ मा सुवर्ण शम्शेरले आफू पछि हटेर बीपीलाई विशेष अधिवेशन गराएर सभापति बनाएका थिए । त्यसैगरी विश्वप्रकाशले आफू उपसभापति बनेर सभापति र देशको प्रधानमन्त्रीको रूपमा गगनको नाम प्रस्ताव गरेर इतिहासको गौरवमय विरासतलाई पछ्याए ।

आफ्ना मित्रको लागि गणेशमान सिंहले आफूले पाएको प्रधानमन्त्री पद कृष्णप्रसाद भट्टराईलाई २०४७ मा सिफारिस गरेका थिए । उक्त पदचापको अहिले खुलेर प्रशंसा भइरहेको छ । कांग्रेस इतरबाट पनि यस्तो कार्यको अनुकरण गर्नुपर्ने आवाज उठेको छ ।  

विशेष महाधिवेशनः विधिभित्रको विद्रोह

विशेष महाधिवेशनको माग कुनै आवेगजन्य असन्तुष्टि थिएन, दललाई जडताबाट निकाल्ने विधिसम्मत विद्रोह थियो, कांग्रेसको विधानको पालना र सफल पनि भयो । गगन–विश्वले अघि सारेको एजेन्डाले स्पष्टसँग भनेको छ । सत्ता केन्द्रित राजनीति होइन, संगठन केन्द्रित राजनीति गरौँ । भागबन्डा होइन, प्रतिष्पर्धा रोजौँ । 

वरिष्ठताको नाममा स्थायित्व होइन कार्यसम्पादनको मूल्यांकन खोजौँ ं।यो महाधिवेशनले जडवत कांग्रेसलाई प्रश्न सोधेको छ । “के पार्टी चलाउने अधिकार केवल विगतको योगदानका आधारमा जीवनभर सुरक्षित राख्न मिल्छ ?”कांग्रेसमा अपवाद बाहेक ‘पुरानो लेयर’ को विस्थापन, अपमान होइन, ऐतिहासिक अनिवार्यता भएको थियो । यहाँ ‘पुराना नेता’ लाई अपमान गर्ने प्रश्न होइन तर नेतृत्वको लेयर स्थायी हुने संस्कार लोकतान्त्रिक पार्टीको मृत्यु बराबर भएको थियो ।

तसर्थ यो विशेष महाधिवेशनले त्यो जाम खोलेको छ । बीपी, गणेशमान, किसुनजी, गिरिजाप्रसाद सबैले आफ्नो समयमै उत्तराधिकारी तयार गरेका थिए तर वर्तमान नेतृत्वले त्यो कार्य गर्न रुचाएन । त्यसैले हिम्मतिला युवामहामन्त्रीहरूले अगुवाइ गरे र कांग्रेसको नयाँ नेतृत्व विधिसम्मत घोषणा गरे । 

गगन–विश्वको उदयले पुरानो लेयरलाई हटाउने होइन, इतिहासमा सम्मानजनक स्थानमा स्थापन गर्ने अवसर दिन्छ । तर त्यो अवसर अस्वीकार गरियो भने, अनेक मुद्दा मामलाको झन्झट गरेर स्वाभाविक परिवर्तनको गतिमा गत्यावरोध गरियो भने पार्टीका वरिष्ठहरूको राजनीतिक अवसान प्राकृतिक हुनेछ । लामो लोकतान्त्रिक आचरणमा हिँडेका कांग्रेस नेताहरूले अवसान रोज्ने छैनन् । 

सहमति सहकार्य र सहअस्तित्वको मार्ग नै छान्ने छन् । निर्वाचित भए लगत्तै सभापति र उपसभापतिले गर्नु भएको आव्हानमा कही कतै अलमलिनु पर्ने अवस्था छैन । तमाम नेताकार्यकर्तालाई गोलबन्ध हुन र विगतमा पार्टी छोडेर जानेहरूलाई आफ्नो घरमा फर्कन निसर्त अपील गरेको विषयले पनि कसैले हीनताबोध राख्ने र पाल्ने आवश्यकता देखिन्न । 

गगन–विश्वः पुस्तान्तरणमात्र होइन, राजनीतिक रूपान्तरण

गगन थापा र विश्वप्रकाश शर्मा केवल ‘युवा अनुहार’ होइनन् । उनीहरू राजनीतिक शैलीको परिवर्तन हुन् । भीडको भाषा होइन, नीतिगत स्पष्टता सत्ता समीकरण होइन, जनताको भरोसा चुनावी गठबन्धन होइन, एक्लै प्रतिस्पर्धाको आत्मविश्वास कांग्रेसमा पलाएको छ । कांग्रेसलाई पुनः आन्दोलनकारी दलबाट नीति–आधारित लोकतान्त्रिक संस्थामा रूपान्तरण गर्ने सम्भावना बोकेको छ ।

वैचारिक र सङ्गठनात्मक विद्रोह 

गत पुस २७ देखि ३० गतेसम्म चलेको कांग्रेसको विशेष महाधिवेशनमा कांग्रेसका तत्कालीन महामन्त्रीका रूपमा गगन थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेको समसामयिक राजनीतिक प्रस्ताव र ‘बदलिएको देश, बदलिनुपर्ने कांग्रेस’ विषयक ‘कांग्रेस रिफर्मेशन प्रतिवेदन’ ले पार्टीको तत्कालीन अवस्थामाथि मात्र प्रश्न उठाएको छैन, उसले कांग्रेसको आगामी वैचारिक, संगठनात्मक र राजनीतिक यात्रालाई समेत स्पष्ट दिशानिर्देश दिएको छ । 

लामो समयदेखि जड, सुस्त र प्रतिक्रियाशील ठानिँदै आएको कांग्रेसलाई पुनः सक्रिय, आत्मालोचक र समयसँग संवाद गर्न सक्ने राजनीतिक शक्ति बनाउने प्रयत्नका रूपमा यस प्रतिवेदनलाई हेरिएको छ । कांग्रेसभित्र कांग्रेसको खोजीको रूपमा पनि विशेष महाधिवेशनलाई हेर्ने दृष्टिकोण बनेको छ । 

विशेष महाधिवेशनमा प्रस्तुत उक्त प्रतिवेदन केवल आन्तरिक दस्तावेजका रूपमा सीमित रहेन; यसले कांग्रेसभित्र मात्र होइन, कांग्रेस इतर राजनीतिक वृत्तमा समेत गम्भीर बहस जन्माएको छ । सामान्यतया कांग्रेसका आन्तरिक प्रस्तावहरूलाई सन्देह र व्यङ्ग्यको दृष्टिले हेर्ने राजनीतिक धारहरू समेत यसपटक प्रतिवेदनप्रति अपेक्षाकृत सकारात्मक देखिनु आफैंमा अर्थपूर्ण संकेत हो । 

यसले कांग्रेसभित्र कुनै नयाँ राजनीतिक चेतना र आत्मसमीक्षाको सम्भावना जन्मिएको अनुभूति गराएको छ । प्रतिवेदनका अंशहरूलाई लिएर ‘नयाँ कांग्रेस’, ‘सुधारिएको कांग्रेस’ र ‘समयको पदचाप बोक्ने कांग्रेस’ ‘नेता पार्टी कांग्रेस’ निर्माणका सूत्र खोज्न थालिएको छ । संगठनात्मक जडता तोड्ने, आन्तरिक लोकतन्त्रलाई व्यवहारमै लागू गर्ने, नीति र नेतृत्वबीचको दूरी घटाउने तथा जनताको भरोसा पुनःस्थापित गर्ने विषयमा प्रतिवेदनले उठाएका प्रश्नहरूले कांग्रेसलाई पुरानै लयमा फर्कन नदिने दबाब सिर्जना गरेको छ । 

यही कारण धेरैले यसलाई केवल सुधारको कागज नभई सम्भावित राजनीतिक मोडको प्रारम्भिक दस्तावेजका रूपमा व्याख्या गर्न थालेका छन् । लामो समयदेखि ‘सुस्त’, ‘थकित’ र ‘इतिहासको बोझ बोकेको पार्टी’ भनेर आलोचित कांग्रेसभित्र अचानक देखिएको यो बौद्धिक चहलपहल र वैचारिक सक्रियताले पार्टी ब्युँझिएको अनुभूति गराएको छ । 

कतिपयका लागि यो कांग्रेसभित्रको विद्रोही चेतनाको संकेत हो भने कतिपयका लागि दबिएको ऊर्जा सतहमा आएको क्षण हो जे होस्, विशेष महाधिवेशन र महामन्त्रीद्वयको प्रतिवेदनले कांग्रेसलाई फेरि राष्ट्रिय राजनीतिक बहसको केन्द्रमा तानेको छ, जहाँ अब कांग्रेसले के बोल्छ मात्र होइन, के गर्छ भन्ने प्रश्न निर्णायक हुनेछ । अवसरको समुचित वितरण प्रणालीबारे दस्तावेज बोलेको छ । दस्तावेजको गहिरो आत्मसमीक्षा गरेको छ । आफू चुकेको र झुकेको विषयलाई बिनालज्जा स्वीकार गरेको छ । महामन्त्रीद्वयका प्रस्तावलाई आधार बनाएर नेपाली कांग्रेसको रुपान्तरण र पुनर्निर्माणबारे समग्र विचारलाई विमर्श गरौँ ।

कांग्रेस बदल्ने प्रस्ताव ः संकटबाट पुनर्जागरणतर्फ

नेपाली कांग्रेस इतिहास, आन्दोलन र बलिदानको पार्टी हो तर आज त्यो पार्टी गम्भीर विश्वास संकट, संगठनात्मक जडता र वैचारिक अलमलमा छ । 

यही पृष्ठभूमिमा पार्टीका महामन्त्रीद्वयले अघि सारेका “कांग्रेस बदल्ने र बनाउने प्रस्ताव” केवल संगठन सुधारको कागज होइन, पार्टीलाई २१औँ शताब्दी अनुकूल पुनःस्थापित गर्ने राजनीतिक घोषणापत्र जस्तै देखिन्छ । अझ यसमा अहिलेको तीव्र प्रतिस्पर्धात्मक अवस्थालाई ध्यान पुर्याएर आएको छ । कतिपय आफ्ना कुरा र कतिपय विश्वमा अभ्यास गरिएका राजनीतिक पार्टीका अभ्यासलाई यसले केन्द्रीय विषय बनाएको छ ।

सत्ता होइन, प्रतिस्पर्धा केन्द्रमा

महामन्त्रीद्वयद्वारा प्रस्तुत प्रस्ताव पार्टी जीवनको पहिलो साहसी र दूरगामी राजनीतिक हस्तक्षेप हो । निर्वाचनमा गठबन्धनको सहारा नलिने र नेपाली कांग्रेस एक्लै प्रतिस्पर्धामा उत्रिने स्पष्ट र दृढ संकल्प । यो प्रस्ताव केवल चुनावी रणनीति होइन, पार्टीलाई पुनः आत्मनिर्भर, आत्मविश्वासी र जनतासँग प्रत्यक्ष संवाद गर्ने राजनीतिक यात्रामा फर्काउने घोषणापत्र हो । 

सत्तामा पुग्न अपनाइने शर्टकटहरू क्षणिक रूपमा आकर्षक देखिए पनि तिनले संगठनलाई कमजोर बनाउँछन् र जनाधारलाई क्षय गर्छन् । यसको विपरीत, संगठन विस्तार, वैचारिक स्पष्टता र जनविश्वासको पुनर्निर्माणमार्फत अघि बढ्नु नै दीर्घकालीन र दिगो राजनीति हो । आफ्नै तागतमा विश्वास गर्ने पार्टीको सङ्कल्पले कांग्रेसलाई दिशाहीन बनाउँदैन; बरु पार्टी निर्माणको जाँगर जगाउँछ, नेतृत्वलाई जिम्मेवार बनाउँछ र कार्यकर्तामा सिर्जनात्मक तथा रचनात्मक ऊर्जा भर्छ । 

गठबन्धन–आधारित चुनावी संस्कृतिले पार्टीलाई क्रमशः अल्छी, जुम्सो र अगतिशील बनाउँदै आएको यथार्थलाई आत्मसात नगरी अघि बढ्न सकिँदैन । त्यसैले एक्लै प्रतिस्पर्धा गर्ने स्पष्ट लाइन तय गर्नु कांग्रेसलाई पुनः सक्रिय, गतिशील र आत्मसम्मानी राजनीतिक शक्तिमा रूपान्तरण गर्ने सकारात्मक र आवश्यक कदम हो ।

शक्ति केन्द्रीकरणमा ब्रेक

दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने प्रस्तावले व्यक्तिकेन्द्रित राजनीति तोड्ने स्पष्ट संकेत गर्छ । यसले नेतृत्वमा घुम्ती, नयाँ पुस्ताको अवसर र सत्ता–लोभभन्दा संस्थागत संस्कृतिलाई बल दिन्छ । अवसरको समतामूलक वितरण प्रणालीको माग गर्दछ र कार्यकर्तालाई कहिल्यै पालो नआउने भयो भन्ने निराशालाई चिरेर आशावादी बनाउन सहयोग गर्दछ । हत्तपत्त अवसर अरूलाई दिन नचाहने र आफूमै राख्ने परिपाटीको अन्त्य हुन्छ ।  

 प्रतिनिधित्वको नयाँ मापदण्ड

एक व्यक्ति एक पटक मात्रै समानुपातिक सांसद बन्न पाउने व्यवस्थाले समानुपातिक प्रणालीको दुरुपयोग रोक्छ । यो अवसरलाई ‘स्थायी सुरक्षित सिट’ होइन, समावेशी लोकतन्त्रको औजार बनाउने प्रयास हो ।

टिकटदेखि नेतृत्वसम्म सुधार

उम्मेदवार छनोटमा प्राइमरी इलेक्सन र योग्यताको आधारमा पार्टी प्रवेश जस्ता प्रस्ताव कांग्रेसलाई आधुनिक पार्टीतर्फ लैजाने मूल आधार हुन् । ‘ल्याटरल इन्ट्री’को अवधारणाले पेशागत, बौद्धिक र सामाजिक नेतृत्वलाई राजनीतिसँग जोड्न सक्छ । अवसरको लागि क्षमतावान मान्छे कांग्रेसमा जोडिन सक्छन् । 

तलबाट माथिसम्म शक्ति प्रवाह
केन्द्रीय सभापतिदेखि सबै तहका जिम्मेवारीमा रहेका नेताहरूलाई तल्लो तहबाटै महाधिवेशन प्रतिनिधि निर्वाचित भएर आउनुपर्ने प्रस्तावले संगठनभित्रको लोकतन्त्र बलियो बनाउँछ । यो नेतृत्वलाई कार्यकर्ताप्रति जवाफदेही बनाउने उपाय पनि हो ।

पुस्तान्तरण र समावेशीकरण
केन्द्रीय कार्यसमितिमा ३० वर्षमुनिका २० प्रतिशत र ३०–४० उमेर समूहका २० जना प्रतिनिधित्व गर्ने प्रस्तावले पुस्तान्तरणलाई नारा होइन, संरचनागत व्यवस्था बनाउँछ ।

संरचनागत र नीतिगत सुधार
संविधान संशोधनको नेतृत्व, निर्वाचन प्रणाली सुधार, ‘सिङ्गल रोटेशन रिङ’, ‘नो भोट’ जस्ता प्रस्तावले कांग्रेसलाई केवल सत्ता दल होइन, राज्य सुधारको अगुवा शक्तिका रूपमा उभ्याउने लक्ष्य राख्छ ।

राज्य संयन्त्र र प्रशासन सुधार

राज्य संरचनाको गैरराजनीतिकरण, सार्वजनिक निकायमा योग्यतामा आधारित नियुक्ति, कर्मचारीमा ‘कुलिङ पिरियड’, दलका सदस्यले दुई वर्षसम्म संवैधानिक नियुक्ति नपाउने व्यवस्था यी सबै प्रस्तावले राजनीति र प्रशासनबीचको अपवित्र गठजोड तोड्न खोजेका छन् ।

सेवा, नैतिकता र राष्ट्र अभियान

द्रुत सार्वजनिक सेवा प्रवाह र देशभर राष्ट्रिय पुनर्जागरण अभियान सञ्चालन । यसले कांग्रेसलाई चुनावी पार्टीभन्दा माथि उठाएर सामाजिक रूपान्तरणको अभियानकर्ता बनाउने सोच देखाउँछ । नेपाली कांग्रेसका नेताद्वारा प्रस्तुत प्रतिवेदनलाई सामान्य संगठनात्मक कागजका रूपमा मात्र हेर्नु ठूलो भूल हुनेछ । यो प्रतिवेदन वास्तवमा पार्टीभित्रको असन्तोष, जनतामा खस्कँदो विश्वास र बदलिँदो राजनीतिक चेतनाको प्रतिफल हो । 

यद्यपि, यसले उठाएका बुँदाहरू पर्याप्त छन् कि छैनन् भन्ने प्रश्न अझै खुलै छ । संस्थागत सुधार र आन्तरिक लोकतन्त्रतर्फ केन्द्रित छन् । यसलाई जनजीवन, अर्थतन्त्र, सुशासन र राजनीतिक संस्कारसँग जोडेर विस्तार गर्दा प्रतिवेदनको प्रभाव धेरै बढ्छ । तल थप्न सकिने केही बुँदा/योजना सुझावलाई विमर्श गरौँ ।

१. प्रत्यक्ष जनसम्बन्ध र विश्वास पुनःस्थापना ः‘जनप्रतिनिधि–जनसंवाद क्यालेन्डर’ ः सांसद÷जनप्रतिनिधिले वर्षमा न्यूनतम निश्चित दिन आफ्नै क्षेत्रमा सार्वजनिक सुनुवाइ अनिवार्य गर्ने र पार्टी जनगुनासो सुन्ने डिजिटल पोर्टल ः नागरिकका उजुरी, सुझाव र ट्र्याकिङ प्रणाली विकास गर्ने ।

२. आर्थिक एजेन्डा ः रोजगारी र उत्पादनलाई राष्ट्रिय रोजगारी ग्यारेन्टी कार्यक्रम (नगर–गाउँ तहमा न्यूनतम रोजगारी सुनिश्चित) गर्दै युवा उद्यमशीलता फण्ड ः सहुलियत ऋण + सीप + बजार पहुँच, कृषि–उद्योग करिडोर ः प्रदेशअनुसार विशेष उत्पादन क्षेत्र घोषणा गर्ने ।

३. सुशासन र भ्रष्टाचार नियन्त्रण ः‘नो टोलरेन्स’ नीति ः पार्टी सदस्य वा जनप्रतिनिधि भ्रष्टाचारमा प्रमाणित भए स्वतः निलम्बन गर्ने, सम्पत्ति सार्वजनिक अनिवार्य ः पदाधिकारी, सांसद र मन्त्रीको वार्षिक विवरण स्वतन्त्र आन्तरिक अनुशासन आयोग पार्टीभित्रै गठन गर्ने ।

४. शिक्षा र स्वास्थ्य ः जनताले महसुस गर्ने सुधार ः सरकारी विद्यालय÷अस्पताल पार्टी प्राथमिकता कार्यक्रम पार्टी नेतृत्वमा ‘एक नेता–एक विद्यालय÷अस्पताल संरक्षक’ अभियान, शिक्षक र स्वास्थ्यकर्मीको कार्यसम्पादनमा आधारित प्रोत्साहन कार्यक्रम बनाउने ।

५. समावेशिता ः प्रतिनिधित्व मात्र होइन नेतृत्व ःमहिला, दलित, आदिवासी, मधेसीका लागि नेतृत्व विकास एकेडेमी  स्थापना गर्दै,समानुपातिक सूचीमा पहिलोपटक अवसर पाउनेलाई प्राथमिकता,अपाङ्गता भएका व्यक्तिका लागि पार्टी संरचनामा विशेष कोटा र पहुँच उपलब्ध गराउने ।

६. संघीयता सुदृढीकरण ः प्रदेश–स्थानीय सरकार अधिकार हस्तान्तरण रोडम्याप तयार गर्दै केन्द्रले प्रदेश÷स्थानीय सरकारमाथि हस्तक्षेप नगर्ने । आन्तरिक आचारसंहिता, संघीयताको प्रभाव मूल्यांकन गर्न स्वतन्त्र आयोग गठन गर्ने ।

७. राजनीतिक संस्कार सुधार ः आजीवन पद र व्यक्तिकेन्द्रित राजनीति अन्त्य गर्ने स्पष्ट सीमा निर्धारण गर्दै, पार्टी निर्णयमा मतदान र असहमतिको सम्मान र संसदीय व्यवहारका लागि ‘कोड अफ कन्डक्ट’ बनाउने ।

८. प्रविधि र पारदर्शिता ःपार्टीको डिजिटल सदस्यता प्रणाली, चन्दा, खर्च र निर्णय सार्वजनिक गर्ने ओपन ड्यासबोर्ड नीति निर्माणमा अनलाइन सुझाव र जनमत संकलन आदि । 

९. राष्ट्रिय मुद्दामा स्पष्ट स्ट्यान्ड ः परराष्ट्र नीति श्वेतपत्र (छिमेक, श्रमिक, आप्रवासन), जलवायु परिवर्तन र विपद् व्यवस्थापनमा राष्ट्रिय तयारी योजना, राष्ट्रिय स्वाभिमान र सार्वभौमिकतामा साझा न्यूनतम सहमति घोषणा गर्ने । 

१०. घोषणापत्र–कार्यान्वयन अन्तर घटाउने ः चुनावी घोषणापत्रका लागि टाइमलाइन, बजेट र जिम्मेवार व्यक्ति तोक्ने, प्रत्येक वर्ष ‘प्रतिबद्धता कार्यान्वयन प्रतिवेदन’ सार्वजनिक गर्ने । 

निष्कर्षः
नेपाली कांग्रेस आज साधारण संगठनात्मक सुधारको बहसमा होइन, आफ्नै ऐतिहासिक अस्तित्वको निर्णायक मोडमा उभिएको छ । गगन थापा–विश्वप्रकाश शर्माको नेतृत्वमा सम्पन्न विशेष महाधिवेशन र प्रस्तुत रिफर्मेशन प्रतिवेदनले कांग्रेसलाई फेरि एकपटक इतिहासको बोझ बोकेको पार्टीबाट भविष्यको जिम्मेवारी बोक्ने पार्टी बन्ने अवसर दिएको छ । यो अवसर सुधारको नारा मात्र होइन, अभ्यासको कठोर परीक्षा हो । यस विशेष महाधिवेशनले स्पष्ट सन्देश दिएको छ । कांग्रेस अब सत्ता–केन्द्रित, गुट–मुखी र व्यक्तिकेन्द्रित राजनीति गरेर जोगिँदैन ।

संगठन, नीति, आन्तरिक लोकतन्त्र र नैतिक राजनीतिक संस्कारबिना कांग्रेसको पुनर्जागरण सम्भव छैन । पुरानो लेयरको विस्थापन अपमान होइन, लोकतान्त्रिक निरन्तरताको स्वाभाविक प्रक्रिया हो । समयमै पुस्तान्तरण र नेतृत्व हस्तान्तरण स्वीकार्न नसक्ने दलहरू इतिहासमा संस्थागत शक्ति होइन, फुटनोट मात्र बन्ने गरेका छन् ।महामन्त्रीद्वयका प्रस्तावहरू एक्लै प्रतिस्पर्धा, शक्ति केन्द्रीकरणमा रोक, प्रतिनिधित्वको नयाँ मापदण्ड, तलबाट माथिसम्म शक्ति प्रवाह, समावेशीकरण, सुशासन र नैतिक राजनीतिका स्पष्ट सीमा यदि इमान्दारितापूर्वक कार्यान्वयन भए, कांग्रेस फेरि लोकतन्त्रको इन्जिन बन्न सक्छ । तर यिनै प्रस्ताव कागजमै सीमित भए भने यो विशेष महाधिवेशन पनि विगतका असफल सुधार प्रयासहरूको सूचीमा थपिनेछ ।

आज जनता कांग्रेसलाई भाषण र इतिहासका कथामा होइन, व्यवहार र परिणाममा खोजिरहेका छन् । त्यसैले अब प्रश्न यस्तो छैन कि ः कांग्रेस बदलिनुपर्छ कि पर्दैन, प्रश्न केवल यति हो । कांग्रेस समयसँगै बदलिन्छ कि समयले कांग्रेसलाई इतिहासमा सीमित बनाइदिन्छ ? यसको उत्तर अब दस्तावेजमा होइन, नेतृत्वको साहस, इमानदारी र कार्यान्वयन क्षमतामा निर्भर छ । अन्तिम सबाल बाँकी छ अब कांग्रेस साँच्चै बदलिन्छ कि फेरि अवसर चुकाएर चुक्चुकाउँछ ?

गगन थापा–विश्वप्रकाश शर्माको नेतृत्वमा सम्पन्न विशेष महाधिवेशन र प्रस्तुत रिफर्मेशन प्रतिवेदनले कांग्रेसलाई फेरि एकपटक इतिहासको बोझ बोकेको पार्टीबाट भविष्यको जिम्मेवारी बोक्ने पार्टी बन्ने अवसर दिएको छ । यो अवसर सुधारको नारा मात्र होइन, अभ्यासको कठोर परीक्षा हो । यस विशेष महाधिवेशनले स्पष्ट सन्देश दिएको छ । कांग्रेस अब सत्ता–केन्द्रित, गुट–मुखी र व्यक्तिकेन्द्रित राजनीति गरेर जोगिँदैन । (लेखक शेर्पा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घ केन्द्रीय सदस्य एवंम् प्रवक्ता हुन् ।) 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ