प्रधानमन्त्री नआएसम्म संसदको गाँठो नफुक्ने कांग्रेसको स्पष्टोक्ति [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २६ मंगलबार
178
Shares
काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदको जारी गतिरोधमा प्रधानमन्त्री वालेन्द्र साह नै जिम्मेवार रहेको आरोप लगाएको छ।
मंगलबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्रीले संसदमा उपस्थित भएर विवादित अभिव्यक्तिबारे स्पष्ट पार्दै गतिरोध अन्त्य गर्न पहल गर्नुपर्ने बताए।
राईले प्रधानमन्त्रीले राष्ट्रियता र राष्ट्रिय अखण्डतासँग जोडिएको विषयमा गम्भीर अभिव्यक्ति दिएको दाबी गर्दै त्यसको विरोधमा सबै विपक्षी दल एकजुट भएको स्पष्ट पारे।
उनले भने, ‘हामीले रहरले सदन अवरोध गरेका होइनौं। राष्ट्रियता र राष्ट्रिय अखण्डताको विषय आइसकेपछि सबै प्रतिपक्षी दल एक ठाउँमा उभिएका छन्। तर यो गतिरोध लामो समय कायम राख्न सकिँदैन। सहमति र सहकार्यको बाटोबाटै अघि बढ्नुपर्छ र त्यसका लागि दलहरू तथा शीर्ष नेताहरूबीच संवाद जारी छ।’
राईले संसदको अवरोध अन्त्य गर्ने मुख्य जिम्मेवारी प्रधानमन्त्रीकै रहेको उल्लेख गर्दै उनी सदनमा आउनुपर्ने बताए।
उनले भने, ‘प्रधानमन्त्री सबैभन्दा जिम्मेवार व्यक्ति भएकाले संसदमा आउनुपर्छ र यहीँबाट डेडलक खोल्नुपर्छ। उहाँ आउनु पनि हुन्छ र आउनै पर्छ। सत्ता पक्षले पनि उहाँलाई ल्याउने काम गर्नुपर्छ।’
कांग्रेसले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पनि करसम्बन्धी विवादमा संसदमा उपस्थित भएर स्पष्ट जवाफ दिनुपर्ने माग गरेको छ।
राईले करका दर हेरफेर र कर छलीसम्बन्धी उठेका प्रश्नमा अर्थमन्त्रीले संसदलाई यथार्थ जानकारी गराएर जनचासोको विषयमा स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताए।