नेताहरू भन्छन् - कांग्रेस एकबद्ध हुनुको विकल्प छैन [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ३ शनिबार
969
Shares
काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री उदय शमशेर राणाले आगामी निर्वाचनमा नेपाली कांग्रेस एकतावद्ध भएर जानुको विकल्प नभएको बताएका छन् ।
कांग्रेसको शनिबार बानेश्वरमा बसेको केन्द्रीय समितिको बैठकपछि उनले कांग्रेस एकतावद्ध नभएका समस्या आउने बताएका हुन् । उनले विशेष महाधिवेशनले सुतेर बसको कांग्रेसलाई जागरुक बनाएको बताए। यद्यपि सबै पक्ष एक ठाउँमा उभिन नसकेका निर्वाचनमा पार्टीलाई ठूलो असर गर्ने उनको भनाइ छ ।
उनले पार्टी र देशको लागि एकतवद्ध हुन सबैलाई आग्रह गरे । निर्वाचनको लागि उम्मेद्वार सिफारिसमा अब भागबण्डा नहुने पनि उनले बताए । टिकटमा अब ६०/४० को भागवण्डा अन्त्य हुने उनको दाबी छ । उनले जित्ने सम्भावना बढी भएको व्यक्तिलाई उम्मेद्वार बनाउने बताए ।
उनले भने, ‘चुनाव अघि एकतावद्ध भएर नेपाली कांग्रेस जानुपर्छ । सुतेर बसेको कांग्रेसमा जागरण आए पनि हामीहरू एकै ठाउँमा उभिन नसके भोलि समस्या आउँछ । यो हाम्रो निम्ती मात्रै होइन कांग्रेसको भविष्यको निम्ति हामी एकढिक्का भएर अगाडी बढौँ । धेरै समय छैन । हामीले भन्दै आएका छौँ । टिकटमा पनि अव ६०/४० भन्ने चिज अब बाँकी रहेन । जसको नाम सिफारिस भएको छ, जसको जित्ने सम्भावना बढी छ, उहाँहरूलाई टिकट दिने भन्ने हामी सबैको कुरा छ ।’
कांग्रेस केन्द्रीय सदस्य विनोद चौधरीले पार्टीको विधानअनुसार नै विशेष महाधिवेशन भएकोले यसलाई सबैले स्वीकार गर्नुपर्ने बताए । विशेष महाधिवेशनले दिएको म्याण्डेटलाई स्वीकार गरेर निर्वाचनमा सहभागी हुनुपर्नेमा उनले जोड दिए ।
नयाँ पुरानो नभनि सबै एकजुट भएर निर्वाचनमा होमिन उनले आग्रह गरे । निर्वाचनमा जाँदा नवीन कांग्रेसको मानसिकता बोकेर जानुपर्ने उनले बताए ।
उनले भने, ‘विशेष महाधिवेशन नेपाली कांग्रेसको विधानअन्तर्गत आयोजना गरिएको महाधिवेशन हो । महाधिवेशनले एउटा म्याण्डेड दियो । त्यो म्याण्डेडलाई सबैले स्वीकार्नुपर्छ । यसमा पुरानो नयाँ भन्ने प्रश्न नै आउँदैन । अहिले सबैका ध्यान निर्वाचनतर्फ केन्द्रित हुनुपर्छ । निर्वाचनमा जाँदाखेरि नवीन नेपाली कांग्रेसलाई लिएर सबैजना जाँदैछन् भन्ने मानसिकताका साथ जानुपर्छ ।’
कांग्रेस नेताहरूले विशेष महाधिवेशनलाई कसैको जित र हारको विषय नबनाई अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । कांग्रेसमका लामो समयदेखि योगदान पुर्याउने नेताहरूलाई सम्मानका साथ उचित भूमिका दिनुपर्नेमा आफूहरू स्पष्ट रहेको उनीहरूको भनाइ छ ।