कांग्रेस विवाद अदालतमा, आयोगको निर्णयविरुद्ध देउवा पक्ष सर्वोच्च जाने [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ३ शनिबार
808
Shares
काठमाडौँ। नेपाली कांग्रेसको आधिकारिकता विवाद अब सर्वोच्च अदालत पुग्ने भएको छ। निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको समूहलाई पार्टीको आधिकारिकता दिने निर्णय गरेपछि शेरबहादुर देउवा पक्षधर नेताहरू त्यसको विरुद्धमा आइतबार अदालत जाने भएका हुन्।
शनिबार पार्टी केन्द्रीय कार्यालयमा बसेको देउवा पक्षका नेताहरूको बैठकले आयोगको निर्णयविरुद्ध संवैधानिक, कानुनी र राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ। नेता डा. प्रकाशशरण महतले आयोगले आफ्नो पक्षको कुरा समेत नसुनी एकपक्षीय र दूषित मनसायले निर्णय गरेको आरोप लगाउँदै आइतबार सर्वोच्चमा रिट निवेदन दिने जानकारी दिए। उनले विशेष महाधिवेशनको नाममा गरिएको भेलाको वैधानिकता र उपस्थित संख्या समेत नहेरी आयोगले हचुवाको भरमा निर्णय गरेको दाबी गरे।
बैठकले निर्वाचन आयोगको यो कदमलाई मुलुकको लोकतान्त्रिक व्यवस्थालाई दुर्घटनामा पार्ने षडयन्त्रको एक अंशका रूपमा ठहर गरेको छ। डा. महतका अनुसार देशको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टीको विधिवत निर्वाचित कार्यसमितिलाई अवैधानिक ढंगले परिवर्तन गर्ने मनसाय स्पष्ट देखिएको छ।
निर्वाचन आयोगले सुनुवाइको न्यूनतम औपचारिकता समेत पूरा नगरेको र पार्टीको विधान एवं निर्वाचनसम्बन्धी कानुनको धज्जी उडाएको भन्दै देउवा पक्षले यो निर्णय आफूहरूलाई अमान्य हुने बताएको छ। १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै वास्तविक र वैधानिक रहेको दाबी गर्दै उनीहरूले सर्वोच्च अदालतले आयोगको त्रुटिपूर्ण निर्णय सच्याएर आफूहरूलाई न्याय दिने विश्वास व्यक्त गरेका छन्।