arrow

इमानको राजनीतिमा पुष्पा भुषाल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २ शुक्रबार
pushpa-bhusal-82-9-27.jpg

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयकी पूर्व अध्यापक एवं वरिष्ठ अधिवक्ता पुष्पा भुषालको राजनीतिक यात्रा अनवरत चलिरहेको छ । उमेरले ११ वर्षदेखि राजनीतिक प्रभावमा परेकी उनको पारिवारिक पृष्ठभूमि पनि राजनीति नै भएकाले उनको रगतमै राजनीति मिसिएको छ । 

उनी इमानदार राजनीतिज्ञ काशीनाथ गौतमकी छोरी हुन् । प्रजातन्त्र ल्याउन अहम् भूमिका खेलेका नेपाली कांग्रेसका नेता काशीनाथ २०१५ सालमा बीपी कोइरालाको मन्त्रिपरिषद्मा स्वास्थ्यमन्त्री भएका थिए । उनी छोटो समय मन्त्री भए । 

अर्थात् २०१७ साल पुस १ गते राजा महेन्द्रले कू गरेर पञ्चायती व्यवस्था ल्याएपछि प्रजातन्त्र कोमामा गयो । बीपी सरकार ढल्यो । त्यसको दुई महिनापछि जन्मेकी पुष्पा परिवारसँगै १४ वर्ष भारतमा प्रवासी जीवन बिताउन बाध्य भइन् । 

भारत हुँदा उनमा राजनीतिक चेत झन् जाग्यो । त्यसैले त अर्घाखाँचीको पाणिनी गाउँपालिका पोखराथोकमा जन्मिएकी पुष्पा २०२८ सालदेखि निरन्तर राजनीतिमा सक्रिय छिन् । 

कानूनमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी पुष्पा त्रिभुवन विश्वविद्यालयमा १७ वर्ष प्राध्यापन गरिन् । उनी वरिष्ठ अधिवक्तासमेत हुन् । उनमा कानून व्यवसायका रूपमा काम गरेको अनुभव छ ।

नेपाली कांग्रेसको महिला विभाग, कानून विभागमा लामो समय क्रियाशील उनीसँग नेपाल महिला संघको महासचिव भएर काम गरेको अनुभव पनि छ । महिला अधिकार र समानताको पक्षमा वकालत गर्दै आएकी पुष्पाले लामो समय प्राध्यापन, कानून व्यावसाय र राजनीतिलाई एक साथ अगाडि बढाइन् ।
 
२०६४ सालको संविधान सभा सदस्य निर्वाचनमा अर्घाखाँचीबाट निर्वाचित भएर उनले संविधान निर्माणमा भूमिका खेलिन् । 

त्यसेबला उनले संविधान मस्यौदा समितिमा रहेर काम गरेकी थिइन् । २०६३ सालको अन्तरिम संविधान मस्यौदा समितिमा समेत कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्दै भूमिका निर्वाह गरिन् । 

२०७० सालमा प्रत्यक्षतर्फ पराजित पुष्पा २०७४ सालको चुनावबाट समानुपातिक सांसदमा निर्वाचित भएर आएपछि उपसभामुख बनिन् । 

पटक पटक कांग्रेस केन्द्रीय सदस्य भएकी पुष्पा काठमाडौंमा गत पुस ३० गते कांग्रेसको दोस्रो विशेष महाधिवेशनमार्फत केन्द्रीय उपसभापति पदमा निर्वाचित भइन् । 

पार्टीको उपसभापति हुने उनी दोस्रो महिला हुन् । यसअघि शैलजा आचार्य कांग्रेसको उपसभामुख बनेकी थिइन् । 

कांग्रेसमा प्रष्ट कि भ्रष्ट भन्ने लाइन अहिले सामाजिक सञ्जालमा खुवै हावी छ । जो प्रष्ट छ त्यो गगनकुमार थापाको कित्तामा छ भने जो भ्रष्ट छ त्यो शेरबहादुर देउवाको कित्तामा भएको आरोप छ । 

जेन-जी आन्दोलनपछि प्रष्ट र भ्रष्ट कित्ता काटिँदै गयो । जेन-जीले परिवर्तन खोजिरहेका बेलामा देउवा समूह भने पुरानै धङधङीमा चलेर पार्टीलाई डुबाउने षड्यन्त्रमा लागेको भन्दै पुष्पासहितका नेताहरूले कित्ता बदले । अर्थात् उनी संस्थापनमा रहँदै पार्टी राजनीति गरेको भए पनि यसपालि देउवाको सुध्रने छाँट नदेखेपछि सुधारोन्मुख कांग्रेसका लागि उनी गगन पक्षतिर आइन् । 

आफ्नो राजनीतिक करियरमा दाग लाग्ने गरी कुनै पनि बदनाम हुने काम नगरेकी इमान पुष्पा कानूनी रूपले पनि गगनकुमार थापालाई साथमा रहेर बल दिन तयार भएकी छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ