arrow

‘देश हाक्नका लागि नयाँ सोच, विचार र एजेण्डा चाहिन्छ, त्यो गगन थापासँग छ’ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १ बिहिबार
dila-udaya-bahadursing.jpg

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सहमहामन्त्री डा डीला संग्रौलाले नेपालको नेतृत्व अब सभापति गगन थापाले गर्ने बताएकी छन् ।

थापा नेतृत्वको केन्द्रीय कार्य समितिको बैठकमा भाग लिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अबको युग गगन थापाको भएको बताएकी हुन् ।

उनले देश चलाउनका लागि नयाँ सोच, विचार र एजेण्डा चाहिने बताइन् । त्यो आशा र भरोसा जगाउन सक्ने सभापति भनेको गगन थापा मात्रै रहेको उनको भनाइ छ । जनताका अपेक्षालाई पूरा गर्न आफूहरू प्रतिवद्ध रहेको उनले स्पष्ट पारिन् ।

उनले भनिन्, ‘गगन थापाको नेतृत्वले देश हाँक्नेछ । देश हाक्नका लागि नयाँ सोच, नयाँ विचार र एजेण्डा चाहिन्छ । त्यो आशा र भरोसा जगाउनुपर्नेछ । त्यो जगाउन सक्ने सभापति गगन थापा हो । अब युग शुरू भएको छ, युग नायक पुनर्जागरणको युगमा । धेरै एजेण्डा छन्, धेरै अपेक्षा छन्, त्यो अपेक्षालाई पूरा गर्न हामी प्रतिवद्ध छौँ ।’

सहमहामन्त्री बहादुरसिंह लामाले जेन-जीको आन्दोलनले नयाँ रुपान्तरण खोजेकोले सोही अनुसार आफूहरू अघि बढेको बताए ।

एउटै अनुहार देखेर जनता वाक्क भइसकेको उनको भनाइ छ । उनले आगामी निर्वाचनमा सुशासन कायम गर्ने, रोजगारी सिर्जना गर्नेलगायतका एजेण्डा लिएर जनताको जाने बताए । उनले विगतका कमीकमजोरीलाई सुधार गर्दै अघि बढ्ने उल्लेख गरे ।

विशेष महाधिवेशनले जनताको र युवाको मन छुने, रोजगारी सिर्जना हुने, सुशासनका विधिलगायतका स्पष्ट निति पारित गरेकोले सोही नीतिअनुसार अगाडि बढ्ने उनले जानकारी दिए ।

उनले भने, ‘जेन-जीको आन्दोलनले के भन्छ भने एकै अनुहार देखिरहँदा पनि अलिकति गाह्रो भयो, सुशासन कायम गर्ने, रोजगारी गर्ने कुराहरू लगायतका मुद्दा लिएर चुनाव हुन लागेको छ । चुनावमा के मुद्दा लिएर जाने त? भरोसा त दिनुपर्यो नी, जब मुद्दा हुँदैन, तबसम्म जनताले भोट दिँदैन । त्यसले गर्दा हामीले गरेका कामहरूको केही कमीकमजोरीहरूलाई पनि सुधार गरेर जान्छौँ । सबै कुरामा सुधार गरेर सुशासन हामी यसरी दिन्छौँ भनेर विशेष महाधिवेशनले स्पष्ट नीति पास गरेको छ । जनताको मन छुने, युवाको मन छुने, रोजगारी सिर्जना हुने, सुशासनका विधि यसरी गर्छौं भनेर हामीले पुष्टि गरेका छौँ ।’

सहमहामन्त्री उदय शमशेर राणाले आगामी निर्वाचनमा पार्टीले भाग लिने बताए । उनले चुनावको अघि अन्यौल सिर्जना गर्न खोजेको नभई सबै नयाँ जोश जाँगर लिएर आएको बताए ।

निर्वाचनका लागि ६ गते उम्मेद्वारी दर्ता गर्नुपर्ने भएकोले त्यसको लागि पार्टीले विभिन्न निर्णय गर्ने जानकारी दिए । बैठकले घोषणापत्र तयार गर्ने, निर्वाचन परिचालन समिति गठन गर्नेलगायतका विभिन्न समितिहरू बनाउने बताए ।

उनले भने, ‘चुनावको अगाडि अन्यौल सिर्जना गर्न खोजेको होइन । हामी चुनावमा जान सक्छौँ । निर्वाचनको लागि ६ गते नोमिनेशन छ, त्यो भन्दा अघि हामीले टिकेट पनि बाड्ढ्नुपर्यो । हाम्रो घोषणापत्र तयार हुनुपर्यो । हाम्रो परिचालन समिति पनि तयार गर्नुपर्यो । निर्वाचन परिचालनसम्बन्धी विभिन्न समितिहरू हामीले बनाउनुपर्छ । आजको बैठक चाहीँ हामीले हतारिएर राखेको छौँ । हामीहरू सबै नयाँ जोश जाँगर लिएर आएका छौँ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ