गगनले भने - हाम्रो माग देउवा बाहेक अरुलाई प्रधामन्त्री तोकेर जाउँ भन्ने मात्रै हो
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ३० बुधबार
2.8k
Shares
काठमाडौँ । नेपाली कांग्रेसका नेता गगन थापाले आगामी निर्वाचनमा प्रधानमन्त्रीको नयाँ उम्मेद्वार तोकेर जाने मात्रै आफूहरुको माग रहेको बताएका छन् ।
बुधबार कांग्रेसको विशेष महाधिवेशमा सम्बोधन गर्दै उनले आफूलाई प्रधानमन्त्री पद नचाहिएको पनि बताए । उनले विशेष महाधिवेशनपछि कांग्रेस सुधारिएर आएको म्यासेज जनतामा दिनुपर्ने भन्ने आफूहरुको मागलाई बेवास्ता गरिएको बताए । उनले सभापति शेरबहादुर देउवा बाहेक अरु जसलाई प्रधानमन्त्रीको उम्मेद्वार तोक्दा पनि आफूहरुलाई मान्य हुने बताए ।
उनले आफूहरु अरु सबै विकल्पमा खुला भएको भए पनि विभिन्न किसिमका हल्ला फैलाइएको आरोप लगाए ।
उनले भने, ‘नेपाली कांग्रेस पार्टीले यो चुनावमा प्रधानमन्त्रीको उम्मेद्वार गगन थापालाई भनेको होइन, जसलाई बनाउने हो बनाउनुस् तर नेपाली कांग्रेसले अब चुनावमा जाँदैगर्दा यति
त भनेर जाउँ हाम्रो प्रधानमन्त्रीको उम्मेद्वार श्री शेरबहादुर देउवा होइन भनेर त जाँउ । अरु जसलाई बनाए पनि हुन्छ । त्यो अपमान गरेर भनेको होइन । हाम्रो दाइ हो, नेता हो अपमान गरेर भनेको होइन । अहिले पनि होइन, मनमा केही द्वेश राखेर भनेको होइन तर देश र जनताको अगाडि आज भन्नुपर्ने बाध्यता छ । यसकारणले गर्दा कहिले सिग्नेचरको कुरा आएको छ, कहिले के को कुरा आएको छ । यी केही पनि होइन । केवल यति मात्रै कुरा हो की हामी अब विशेष महाधिवेशन पछाडि हामी नेपाली कांग्रेस बदलिएर आयो भन्न पाउने कि नपाउने ? प्रधानमन्त्री कसलाई बनाउन छ, बनाउनुस्, यही विशेष महाधिवेशनको हलबाट अन्तरिम सभापति कसलाई बनाउनुहुन्छ बनाउनुस् । हामी सबै विकल्पको लागि खुला । अझ हामीले आज त के भन्यौँ भने सामूहिक नेतृत्व छान्नुपर्छ भने त्यो पनि छानौँ ।’
नेता थापाले सहमतिको नाममा आफूहरूलाई अल्मल्याउने काम मात्रै भएको बताए । विशेष महाधिवेशनको निर्वाचन कार्यतालिका सार्न लगाएर सहमतिको नाममा समय बिताउने मात्रै काम गरिएको उनको गुनासो छ ।