पूर्व राष्ट्रपतिलाई मृत्युदण्डको सजाय माग, फेब्रुअरीमा आउँदैछ फैसला
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ३० बुधबार
2.2k
Shares
काठमाडौँ । दक्षिण कोरियाको एक विशेष अभियोजक टोलीले पूर्व राष्ट्रपति युन सुक-योललाई राज्यद्रोहको अभियोगमा मृत्युदण्डको सजाय दिन माग गरेको छ।
डिसेम्बर ३, २०२४ मा असंवैधानिक रूपमा संकटकाल घोषणा गरी राज्यको संवैधानिक व्यवस्था उथलपुथल पार्न षड्यन्त्र गरेको ठहर गर्दै चो युन-सुक नेतृत्वको अनुसन्धान टोलीले उक्त कडा सजायको माग गरेको हो। अभियोजन पक्षले पूर्व राष्ट्रपतिको सो कदमलाई लोकतन्त्र विरोधी र राज्य विरुद्धको गम्भीर अपराधका रूपमा व्याख्या गरेको छ।
यसैगरी सोही प्रकरणमा मुख्य सहयोगीको भूमिका निर्वाह गरेका पूर्व रक्षामन्त्री किम योङ-ह्युनलाई भने जन्मकैदको सजाय दिन माग गरिएको छ। दक्षिण कोरियाको आधुनिक इतिहासमा कुनै पनि पूर्व राष्ट्रपतिलाई यस प्रकारको सजाय माग गरिएको यो दुर्लभ र ऐतिहासिक घटना मानिएको छ।
यस संवेदनशील मुद्दामा सियोल सेन्ट्रल डिस्ट्रिक्ट कोर्टले आगामी फेब्रुअरी महिनाभित्र अन्तिम फैसला सुनाउने अपेक्षा गरिएको छ, जसलाई विश्वभर निकै चासोका साथ हेरिएको छ।