अमेरिकी क्षेप्यास्त्र रक्षा प्रणाली मध्यपूर्वतर्फ मोडिएपछि सियोलमा चिन्ता, उत्तर कोरियाको जोखिम कसरी टर्ला ?
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २७ बुधबार
2.1k
Shares
काठमाडौँ । मध्यपूर्वमा बढ्दो युद्ध र तनावका बीच अमेरिकाले दक्षिण कोरियामा तैनाथ आफ्ना केही अत्याधुनिक सैन्य उपकरणहरू त्यहाँ सार्ने तयारी गरेपछि दक्षिण कोरियाको सुरक्षाबारे बहस सुरु भएको छ। अमेरिकी रक्षा प्रणालीको एउटा हिस्सा स्थानान्तरण हुन लागे पनि दक्षिण कोरियाले आफ्नो सुरक्षा व्यवस्था र उत्तर कोरियाविरुद्धको प्रतिरोधी क्षमतामा कुनै कमी नआउने दाबी गरेको छ।
अमेरिकी पत्रिका द वासिङ्टन पोस्टले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै 'टर्मिनल हाई अल्टिच्युड एरिया डिफेन्स' (थाड) प्रणालीका केही अंश दक्षिण कोरियाबाट मध्यपूर्वतर्फ सार्न लागिएको खबर सार्वजनिक गरेपछि यसले तरङ्ग पैदा गरेको हो। विशेषगरी इरानसँगको बढ्दो तनावलाई ध्यानमा राख्दै अमेरिकाले यो कदम चाल्न लागेको अनुमान गरिएको छ।
दक्षिण कोरियाको रक्षा मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै केही सैन्य सम्पत्ति पुनःतैनाथ भए पनि उत्तर कोरियाको सम्भावित आणविक तथा ब्यालेस्टिक मिसाइल आक्रमणलाई रोक्ने क्षमतामा कुनै ह्रास नआउने स्पष्ट पारेको छ। मन्त्रालयले एएफपीलाई दिएको जानकारी अनुसार संयुक्त राज्य सेनाको कोरियास्थित बल (युएसएफके) सँग अझै पनि पर्याप्त सैन्य सामर्थ्य रहेकाले जोखिम नियन्त्रण गर्न सकिने विश्वास व्यक्त गरेको छ।
दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले अमेरिकी सैन्य उपकरण फिर्ता लैजाने विषयमा सरकार पूर्ण रूपमा सन्तुष्ट नरहेको सङ्केत गरेका छन्। उनले युएसएफकेले आफ्नै सैन्य आवश्यकताका कारण हवाई रक्षा हतियार फिर्ता लिएको विषयमा असन्तुष्टि व्यक्त गरे पनि दक्षिण कोरियाको यस विषयमा निर्णय गर्ने क्षमता सीमित रहेको कठोर यथार्थलाई स्वीकार गरेका छन्।
सन् २०१७ मा दक्षिण कोरियामा स्थापना गरिएको 'थाड' प्रणाली छोटो, मध्यम र मध्यवर्ती दूरीका ब्यालेस्टिक मिसाइललाई हावामै नष्ट गर्ने 'हिट–टु–किल' प्रविधिमा आधारित छ। सरकारी समाचार संस्था योन्हापले सार्वजनिक गरेको तस्बिरमा सियोलबाट दक्षिणतर्फ रहेको सेओङ्गजु काउन्टीको थाड ब्याट्रीका केही भागहरू हटाइएको वा भत्काइएको देखिएको रिपोर्ट गरेको छ।
राष्ट्रपति कार्यालयले भने यस्तो संवेदनशील सैन्य विषयमा सार्वजनिक रूपमा धेरै टिप्पणी गर्नु उचित नहुने बताएको छ। यस्ता अनुमानित रिपोर्टले देशको सुरक्षा चासो र मध्यपूर्वी देशहरूसँगको कूटनीतिक सम्बन्धमा समेत असर पार्न सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरिएको छ। हाल दक्षिण कोरियामा करिब २८ हजार ५०० अमेरिकी सैनिक स्थायी रूपमा तैनाथ छन्।