arrow

विशेष महाधिवेशन चलिरहँदा कांग्रेस संस्थापनले बोलायो केन्द्रीय समिति बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २८ सोमबार
deuba-niwas-maharajgunj-82-9-28rrr.jpg
तस्बिर : द‍ेउवा निवास महाराजगञ्ज ।

काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन चलिरहँदा संस्थापनले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । 

भृकुटीमण्डपमा आइतबारदेखि जारी विशेष महाधिवेशन मंगलबार बिहान ९ बजेदेखि पुनः चालु रहने भए पनि संस्थापनले सोही समय पारेर पार्टी मुख्यालय बीपीनगर सानेपामा बैठक डाकेको हो । 

बैठक बिहान ११ बजेका लागि डाकिएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू, आमन्त्रित सदस्यहरू र सातै प्रदेशका सभापतिलाई उपस्थितिका लागि अनुरोध गरिएको छ । 

महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा भएको विशेष महाधिवेशनमा सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का लगायत सबै कांग्रेसी नेताहरूलाई बोलाइएको भए पनि देउवा आएनन् । 

यतिसम्मकि उनको सचिवालयले निम्तो दिन गएका कांग्रेसी नेताको अपमानसमेत गरेका थिए । तर भृकुटीमण्डप दुई दिनदेखि गुन्जायमान भएसँगै संस्थापनका नेताहरू पटक पटक छलफलमा जुटेका छन् । 

कांग्रेसको विधान संशोधन २०१७ को १७ (२) अनुसार वैधानिक आधारमा बसेको विशेष महाधिवेशनलाई अवैध ठहर्याउने अभिव्यक्ति संस्थापनले दिए पनि विशेष महाधिवेशन पक्षधरमा उल्लेख्य मात्रामा महाधिवेशन प्रतिनिधि सहभागी भएसँगै देउवा निवासमा पटक पटक नेताहरुको जमघट भएको छ ।  

विशेष महाधिवेशनको भार बढेसँगै देउवाले महामन्त्रीद्धयसँग छलफल गर्ने र सहमति बने देउवा वा कार्यवाहक सभापति पूर्णबहादुर खड्का विशेष महाधिवेशनको समापनमा सहभागी हुने सम्भावना रहेको बताइएको छ । 

यसको औपचारिक खबर भने महामन्त्रीद्धयलाई नआएको बताइएको छ । कांग्रेस नेता मीन विश्वकर्माले सञ्चारकर्मीसँग देउवाले दुवै महामन्त्रीलाई बोलाउने जानकारी दिएका हुन् । 

विशेष महाधिवेशन विधिसम्मत भएन पनि भन्ने अनि वार्तामा आउन आह्वान गर्नुका पछाडि संस्थापन कमजोर भएको प्रमाण भएको विशेष महाधिवेशन पक्षधर नेताहरूले बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ